नेपालबाट कतार जाने कामदारले भिसा सेन्टरमा कुनै शुल्क तिर्नु नपर्ने !

बैशाख ०८,२०७६

-

बैशाख, ८,२०७५ काठमाडौं । 
 
कामदार कतार पुगेपछि हुने स्वास्थ्य परीक्षण, करार सम्झौता लगायतका प्रक्रिया नेपालमै गर्न कतारले खोल्न लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने कतार सरकारले प्रस्ट पारेको छ। 
 
भिसा सेन्टर खोल्ने विषयलाई दुई देशबीच हुन लागेको श्रम सम्झौता पुनरावलोकनदेखि सिण्डिकेटसम्म जोडेर विभिन्न प्रचार हुन थालेपछि भिसा सेन्टरको विषयमा कतारले दोस्रो पटक पत्रमार्फत प्रस्ट पारेको हो।
 
कतारको आन्तरिक मामिला मन्त्रालयले नेपालमा स्थापना हुन लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयलाई ७ अप्रिल २०१९ मा पत्र पठाएको परराष्ट्र जनाइएको छ। 
 
सबै शुल्क रोजगारदाताले व्यहोर्ने छ। कुनै शीर्षकमा पनि कामदारले पैसा तिर्नु पर्दैन’, परराष्ट्रमा प्राप्त पत्रमा भनिएको छ।
 
भिसा सेन्टरकै विषयमा जानकारी गराउँदै कतारले यसअघि जनवरीमा परराष्ट्रलाई पत्र लेखेको थियो। 
 
तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिण्डिकेट र कामदारमाथि आर्थिक भार पर्ने आशंकासहित भिसा सेन्टर खोल्न दिन अस्वीकार गरेपछि महिनौंअघि नेपालमा खुल्ने भनिएको भिसा सेन्टर खुल्न सकेको छैन।
 
सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्न दुई देशका अधिकारीबीच अघिल्लो महिना कतारमा छलफल भएको थियो।
 
श्रम सम्झौता पुनरावलोकन गर्न कतार नेपाली पक्षको मागमा तयार भए पनि कतारी पक्षले राखेको भिसा सेन्टर स्थापनाको मागमा नेपाली पक्षले असहमति राखेपछि कतारी पक्ष असन्तुष्ट देखिएको छ।