Trending :
 

राम्रो काम:

बीमा गरेकालाई भरतपुर अस्पतालमा छुट्टै ‘बीमा ओपीडी’ मार्फत सेवा

बैशाख १०,२०७६

-

 बैशाख १०, २०७६ चितवन ।
 
निशुल्क स्वास्थ्य बीमा गरेका बिरामीका लागि भरतपुर अस्पतालले छुट्टै बहिरङ्ग सेवा विभाग (ओपीडी) स्थापना गरेको छ ।
 
चितवनमा बीमा गर्नेको संख्या बढे पनि उपचार व्यवस्थापनमा सहजता हुन नसक्दा समस्या देखिँदै आएको थियो ।
 
बीमा गरेका बिरामीको चाप बढ्दै गएपछि सहज व्यवस्थापनका लागि छुट्टै ओपीडी स्थापना गरिएको अस्पतालले जानकारी दिएको छ ।
 
अस्पतालमा बीमा गरेका बिरामीको चाप बढ्दै गएको र समयमा उपचार नपाएको गुनासो आएका कारण छुट्टै ओपीडी खोलेर सेवा दिन थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा कृष्ण पौडेलले बताउनुभयो । 
 
टिकट काट्नेबित्तिकै सेवा दिन सकिनेगरी ओपीडी स्थापना गरिएको बताउँदै उहाँले बीमाको ओपीडीमा हरेक दिन ४ जना चिकित्सकसहितको टोली रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
 
हरेक दिन बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिन सक्नेगरी ओपीडी खोलिएको बताउँदै उहाँले सामान्य परीक्षण र आवश्यकता अनुसार रिफर गर्नेगरी वैशाख २ गतेदेखि अस्पतालले छुट्टै ओपीडी खोलेको बताउनुभयो । 
 
पछिल्लो समय बीमाका बिरामीलाई प्रथम सेवा विन्दुको रुपमा प्राथामिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकिएकोले सरकारी अस्पतालमा बिरामीको भिड लाग्ने गरेको छ ।
 
निस्शुल्क स्वास्थ्य बीमा अन्तर्गत देशका ४२ जिल्ला मध्ये चितवनमा सबैभन्दा बढी संख्यामा बीमा गरेका छन् ।
 
बीमाप्रतिको आम नागरिकको आकर्षण बढेको भएपनि उपचार पद्धतिमा सहज व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको हो । उज्यालोबाट