सरकारको नीति तथा कार्यक्रम बैशाख २० गते प्रस्तुत गर्ने तयारी
-
बैशाख १२, २०७६ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनमार्फत राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति कार्यलयले बुधबार यससम्बन्धी पत्र संसद्लाई पठाइसकेको छ।
संसद्को वर्षे अधिवेशन वैशाख १६ बाट सुरु हुँदैछ। चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रपति फर्केकै भोलिपल्ट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितपछि बजेट प्रस्तुत गर्ने प्रचलन छ। तर बजेटका सिद्धान्त र प्राथमिकताबारे (प्रिबजेट) छलफल भने वार्षिक नीति तथा कार्यक्रम अघि कि पछि भन्ने टुंगी नसकेको सभामुख कृष्णबहादुर महराले बताए।
गत वर्ष नीति तथा कार्यक्रम अघि नै प्रिबजेट छलफल भएको थियो। तर त्यतिबेला प्रिबजेट छलफलको भावना विपरीत नीति तथा कार्यक्रम प्रस्तुत भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए। ‘प्रिबजेट छलफलबारे सरकारसँग कुराकानी भइरहेको छ’, सभामुख महराले भने, ‘यो विषयमा केही दिनमा टुंगो लाग्छ।’
संसदीय प्रणालीमा प्रिबजेट छलफलका आधारमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने विश्वास गरिन्छ।