Trending :
 

आयल निगमद्धारा ग्यास व्यवसायीको कमिशनमा वृद्धि

बैशाख १२,२०७६

-

बैशाख १२, २०७६ काठमाडौं ।  
पेट्रोलियम पदार्थको नियमन गर्ने निकाय नेपाल आयल निगमले ग्यास व्यवसायीको कमिशन बढाएको छ।
 
व्यवसायीको लगानी र खर्च बढेको आधारमा कमिशन बढाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।
 
‘विगत ४,५ वर्ष देखि ग्यास व्यवसायीको कमिशन बढेको थिएन। अहिले उनीहरूको खर्च र लगानी बढ्दै गएपछि २८ रूपैयाँ कमिशन बढाएको हो । यस वापत निगमले वार्षिक ९६ करोड खर्च गर्ने छ।
 
कमिशनको कार्य आज (बिहीबार)बाट लागू भएको छ। उक्त कमिसन उपभोक्तालाई तत्काल भार नपर्ने गरी पेट्रोल र डिजेलको मूल्यमा समायोजन गरिने निगमले जनाएको छ।
 
यसअघि निगमले १ सिलिण्डर ग्यास बराबर प्रशासकीय खर्च वापत ५२ रुपैयाँ ५४ पैसा स्थानीय ढुवानी खर्च वापत २९ रुपैयाँ २० पैसा बाह्य ढुवानी खर्च ८७ रुपैयाँ प्रविधि नोक्सानमा १ रुपैयाँ ३९ पैसा, उद्योगीको कमिसन ३० रुपैयाँ ५५ पैसा र विक्रेताको कमिसन ३२ रूपैयाँ तिर्दै आएको थियो।
 
आजबाट ग्यास व्यवसायीको प्रशासकीय खर्चमा १३, स्थानीय ढुवानी खर्चमा ८, उद्योगीको मुनाफा २ र बिक्रेताको कमिसनमा ५.४७ रूपैयाँ (भ्याट सहित) बढेको छ।
 
सरकारले आफुहरूले राखेको माग पुरै रूपमा पुरा नभएको एलपी ग्यास उद्योग महासङ्घका अध्यक्ष गोकुल भण्डारीले बताएका छन्। सरकारले बाह्य ढुवानी खर्च र प्राविधिक खर्च नबढाएको उनको गुनासो छ। 
 
केही समय यता आफ्ना माग पूरा नभएको भन्दै ग्यास व्यवसायीले आन्दोलन गरेका थिए।