Trending :
 

फेवातालको किनारमा भोलीदेखी साउथ एसियन च्याम्पियनसिप

बैशाख १३,२०७६

-

वैशाख १३, २०७६ काठमाडौं ।
 
पोखरामा भोलि शनिबार फेवाताल किनारमा ट्रायथलनको एसियन कप तथा साउथ एसियन च्याम्पियनसिप सुरु हुँदैै छ। त्यसको लागि सहभागी खेलाडी पोखरा आइपुगेका छन्।
 
कार्यक्रम एक वर्षअघि नै तय भएको हो । आवश्यक तयारी पूरा गरेको कास्की ट्रायथोलन संघका सचिव प्रकाश बरालले बताए। 
 
च्याम्पियनसिपको जानकारी अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेभसाइटमै राखिसकेको छ। स्वीकृतिका लागि १ हजार डलर खर्च गरिएको संघले जनाएको छ।
 
ट्रायथोलनको स्प्रिन्टतर्फ प्रतिस्पर्धा गराइनेछ। स्प्रिन्टअन्तर्गत ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड हुनेछ।
 
पौडी फेवातालमा गराइनेछ। दौड हिमागृह-सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड, राष्ट्रबैंक चोक हुँदै हिमागृहमा पुगेर टुंगिनेछ।’ कास्की जिल्ला ट्रायथलन संघका अध्यक्ष देवकोटाले भने,‘दौडको यो पाँच किलोमिटर दूरीलाई साइक्लिङ गर्दा चार फन्को मार्नुपर्छ।’ उनका अनुसार राष्ट्र बैंक आउनका लागि ‘बाइपास रोड’ प्रयोग हुनेछ।
 
शनिबार हुने प्रतिस्पर्धाका लागि सवारीसाधनले निम्त्याउने समस्यालाई ध्यान राख्दै रुटमा पर्ने सडकको आधा भागलाई व्यवस्थापन गर्नुपर्ने जोड दिँदै संघले सवारीसाधनको ट्राफिक व्यवस्थापन गरिदिन आग्रहसमेत गरेको छ।
 
एसियन कप र साउथ एसियन च्याम्पियनसिपमा २७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ९ देशका खेलाडी प्रतियोगितामा सहभागी छन्। 
 
लिथुआनिया, पोल्यान्ड, जापान, कोरिया, अस्ट्रेलिया, कजाकस्तान, भारत, बंगलादेश र नेपालका गरी २७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। २० पुरुष र ७ महिला खेलाडी प्रतिस्पर्धी छन्। 
 
जापानबाट मात्रै ८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली पाँच जना छन्। भारतबाट ३, बंगलादेशबाट २ जना सहभागी छन्। कोरियाबाट पनि २ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथलन संघले जनाएको छ।