Trending :
 

संयुक्त वक्तव्य जारी गर्दै बीआरआई सम्मेलन आज सकिँदै, साँझ नेपाली दूतावासमा स्वागत

बैशाख १४,२०७६

-

वैशाख १४, २०७६ बेइजिङ ।
 
लक्ष्मी लम्साल
 
साझा प्रतिबद्धतासहितको संयुक्त वक्तव्य जारी गर्दै तीनदिनदेखि चलिरहेको बेल्ट एण्ड रोड (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च शनिबार बेइजिङमा सम्पन्न हुँदैछ।
 
 
चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने थिमेटिक सत्रमा विभिन्न देशका राष्ट्रप्रमुखहरू सहित नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आफ्नो मन्तव्य राख्ने कार्यक्रम छ। ुहरियाली प्रवर्द्धन तथा राष्ट्रसंघको दीगो विकास लक्ष्य कार्यान्वयन(२०३० का मुद्दा’ विषयमा राष्ट्रपति भण्डारीको सम्बोधन केन्द्रित छ।
 
 
बेइजिङ समय अनुसार बिहान ९ बजेदेखि सुरू भएको सम्मेलन साँझ ५ बजे सम्पन्न भएपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ। संयुक्त विज्ञप्तिमा विभिन्न देशहरूले बीआरआई अन्तर्गतका आ(आफ्ना प्रोजेक्टका बारेमा उल्लेख गरेका छन्। ३७ वटा देशका राष्ट्र तथा सरकारप्रमुखहरूको उपस्थितिमा यो मञ्च भैरहेका हुनाले यस विज्ञप्तिको दूरगामी महत्व छ।
 
श्रोतका अनुसार संयुक्त वक्तव्यमा नेपालसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू पनि समेटिएका छन्। त्यसमा नेपाल(चीन सीमापार रेलवे प्रोजेक्ट र हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको सन्दर्भ जोडिने भएको छ।
 
यसैगरी शनिबार साँझ चीनका लागि नेपाली राजदूतावासले राष्ट्रपतिको सम्मानमा एक स्वागत साँझको संयोजन गरेको छ। त्यस अवसरमा चीनको ९ दिने भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले बेइजिङमा भेला भएका नेपालीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ।
 
राष्ट्रपतिको टोलीमा आएका झण्डै चार दर्जन सहभागीहरू सहित साढे ३ सय भन्दा बढी नेपालीहरू दूतावासको स्वागत समारोहमा भेला हुने जनाइएको छ।