Trending :
 

वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने:

सोमबारदेखि शुरु हुने संसद्को चौथो अधिवेशनको तयारी पूरा

बैशाख १४,२०७६

-

वैशाख १४, २०७६ काठमाडौं ।
 संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा यही वैशाख १६ गते अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्।
 
नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले चौथो अधिवेशनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भएको जानकारी दिए। 
 
राष्ट्रियसभा र प्रतिनिधि सभाका मूल बैठक कक्षमा रहेका भौतिक पूर्वाधारको मर्मतसम्भारलगायत प्राविधिक तयारी पूरा भएको पनि प्रवक्ता पाण्डेले बताए।
 
वर्षे अधिवेशनका रुपमा रहने यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ। सरकारको आगामी आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम यही वैशाख २० गते प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची तय भएको छ। संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ।
 
एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ। 
 
संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्नेछन्।