बीआरआई सम्मेलनमा नेपालले राखेको प्रस्ताव पारितः के के छन प्रस्तावमा ?
-
वैशाख १५,२०७६ बेइजिङ ।
चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ ।
नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् ।
बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको आतिथ्य रहेको थियो ।
करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मेलनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ ।
शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् ।
तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।
ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने नेपालको प्रस्तावलाई ‘एनेक्स’ मा सूचीकृत गर्न चीन तयार भएको छ ।
‘एनेक्स’को २३ औं बुँदामा भनिएको छ-‘नेपाल चीन ट्रान्स(हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क, जसमा नेपाल(चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ ।’
बीआरआईको दोस्रो बैठकले छनोट गरेका ६४ परियोजनाहरुमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ परियोजना छन् भने क्षेत्रीय बहुपक्षीय सहयोग अन्तरगत १४ वटा परियोजनाहरुलाई समेटिएको छ ।
त्यसैगरी सहभागीहरुका अन्य प्रशासंगिक प्रयासहरुलाई १५ वटा परियोजनामार्फत संयुक्त वक्तव्यको परिशिष्टमा समेटिएको छ ।
चीनको बीआरआई परियोजनामा नेपालले यसअघि नै सैद्धान्तिक सहमति जनाइसकेको भएता पनि यो परियोजनाभित्र नेपाललाई कसरी समेटिने छ भन्ने स्पष्ट भएको थिएन ।
तर, शनिबार सम्पन्न गोलमेच बैठकले अब नेपाल(चीन कनेक्टिभिटीलाई औपचारिकरुपमै बीआरआईमा समेटेको छ ।
ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने प्रस्ताव नेपालले राख्दै आएको थियो । नेपालको यो प्रस्तावलाई ‘एनेक्स’ मा सूचीकृत गर्न चीन तयार भएसँगै अब यसलाई नेपालको प्रस्ताव मान्य भएको मान्निछ । यसबाट अब नेपाल औपचारिक एवं ठोस प्रोजेक्टका साथ बीआरआईमा जोडिएको छ ।
फलस्वरुप नेपालले तिब्बत र ताइवान चीनको अभिन्न अंग भएको प्रतिवछता दोहोर्याउँदै एक चीन नीतिप्रति आफ्नो कटिवद्धतालाई चिनियाँ नेतृत्वसमक्ष थप आश्वस्त पारेको छ भने चिनियाँ अधिकारीहरुले पनि समृत नेपाल सुशी नेपालीको अभियानमा चीनलाई सम्झन भनेका छन् ।
ट्रान्स-हिमालयन बहुआयामिक कनेक्टिभिटीमा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरुका साथै रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्ने विश्वास नेपाली पक्षले लिएको छ ।
सम्मेलनलाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।
त्यसैगरी जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन एवं उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको भण्डारीेले बताइन् ।
चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा चिनियाँ पक्षले नेपालको जलवायु परिवर्तनको क्षेत्रमा चासो देखाएको राष्ट्रपति भण्डारीलाई उधृत गर्दै नेपाली अधिकारीहरुले जानकारी दिएका छन् ।
चीनसँगको सम्बन्ध राजनीति र अर्थतन्त्रमा पनि विस्तार: परराष्ट्रमन्त्री
यसैवीच, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनवीच हजारौं वर्षदेखि रहँदै आएको सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताएका छन् ।
बेइजिङस्थित नेपाली दूताबासले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा आयोजना गरेको रात्रिभोजमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जनताबीच आरम्भ भएको नेपाल तथा चीनबीच सम्बन्ध हजारौँ वर्षदेखि घनिष्ठ रहँदै आएको र हाल यो सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताएका हुन् ।
मन्त्री ज्ञवालीले चीनले नेपालको विकास प्रयासमा दिएको सहयोगको सराहना गर्दै विनाशकारी भूकम्पका समयमा तत्कालको राहत तथा पुनःनिर्माणको कार्यमा चीनको प्रयास अविस्मरणीय रहेको उल्लेख गरे ।
मन्त्री ज्ञवालीले नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको समर्थनप्रति सम्मान व्यक्त गर्दै नेपाल एक चीनको नीतिमा अडिग रहेको बताए ।