Trending :
 

ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई राष्ट्रपति भण्डारीको आग्रह

बैशाख १५,२०७६

-

बैशाख १५,२०७६ बेइजिङ ।
लक्ष्मी लम्साल
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेकी छन ।
 
नेपाल लगानीका लागि उपयुक्त वातावरण रहेको आधा दर्जन उदाहरण पेश गर्दै भण्डारीले लगानी गर्न आग्रह गरेकी हुन्।
 
चिनियाँ राजदूतावास र चीन वाणिज्य शेयर बजार (चाइना कमर्सियल स्टक इन्टरप्राइजेज) ले आइतबार बेइजिङमा गरेको ‘नेपाल-चाइना आर्थिक तथा व्यापारिक मञ्च-२०१९, लगानीका अवसरको खोजी तथा बलियो आर्थिक सहकार्य’ विषयक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न तथा प्रविधि हस्तान्तरण गरी फाइदा लिन चिनियाँ लगानीकर्ताहरूलाई अनुरोध गरेकी हुन ।
 
 
नेपालमा लगानीको वातावरण भएको पुष्टी गर्ने क्रममा राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले नेपालमा नेपालमा राजनीतिक संक्रमण अन्त्य भएको जानकारी गराएकी थिइन् । 
 
गत महिना काठमाडौंमा भएको लगानी सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले यसअघिको राजनीतिक अस्थिरताका अब नभएकोले वैदेशिक लगानी भित्रिन समस्या नरहेको बताइन्।
 
राष्ट्रपति भण्डारीले लगानी गर्नका लागि अब नेपालमा इतिहासकै सबैभन्दा बलियो र स्थिर सरकार बनेको दाबी समेत गरिन्।
 
विकासका लागि वर्तमान सरकारसँग स्पष्ट भिजन भएकोतर्फ पनि राष्ट्रपति भण्डारीको संकेत थियो। उनले देश विकासका लागि स्पष्ट दृष्टिकोण, कार्यसूची र दिशा भएको सरकार पनि अहिले नेपालमा बनेकाले लगानीको वातावरण बनेको प्रस्ट्याइन्।
 
लगानीकर्ताहरूका लागि सुरक्षा सबैभन्दा ठूलो कुरा हो। त्यसमा राष्ट्रपति भण्डारीले लगानीको सुरक्षालाई नेपालले आफ्नो जिम्मेवारीका रूपमा लिएकाले चिनियाँहरूलाई नेपालमा लगानीको सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताइन्।
 
राष्ट्रपति भण्डारीका अनुसार चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल नै उपयुक्त गन्तव्य हुनुको अर्को कारण नेपालीहरूले चीनलाई विश्वासिलो र भरपर्दो साझेदारका रूपमा लिएको बताईन् । चिनियाँ लगानीकर्ताहरू नेपालमा आउँदा नेपालको जनस्तरबाट पनि उपयुक्त साथ र समर्थन हुने पनि विस्वास दिलाईन।
 
चीनमा शनिबार सम्पन्न बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)दोश्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा भाग लिनुका साथै चीनको ९ दिवसीय राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले बीआरआईले लगानीका थप अवसरका ढोका खोलेकाले चिनियाँ उद्यमी व्यवसायीहरूलाई नेपालमा प्रवेश गर्न आह्वान गरिन्।
 
नेपालका सामु पर्याप्त भौतिक साधन श्रोत र प्रविधिको अभाव भएकाले छिमेकी राष्ट्र लगायत विश्व समुदायले सहयोगका लागि अवसर भएको बताउँदै राष्ट्रपति भण्डारीले लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिएको र यो क्रम जारी रहेको बताइन्।