पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्र पारित:थोरै पुरा,धेरै अधुरा !
-
बैशाख १५,२०७६ काठमाडौं ।
राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोचसहितको पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्र पारित गरेको छ ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीसहितको पूर्ण बैठकले आधारपत्र पारित गरेको हो ।
यो आधारपत्र मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि लागु हुनेछ । पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मको लागि तय गरिएका धेरै योजना राम्रा भए पनि केही योजनामा महत्वाकांक्षा कम भएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
महत्वकांक्षी नभइ देश विकास नहुने भन्दै ओलीले ठूलै सपना देख्नुपर्ने र योजना समावेश गर्दा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो ।
आउँदो वर्षदेखि झण्डै दोहोरो अंकको आर्थिक वृद्धि गर्ने र सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा हुने पनि दावी गर्नुभयो ।
योजना आयोगले पाँच वर्षमा १५ हजार किलोमिटर राष्ट्रिय लोकमार्ग, १ सय २० किलोमिटर रेलमार्ग, ७६ किलोमिटर द्रुतमार्ग, पूर्वपश्चिम रेलमार्ग, काठमाण्डौ मेट्रोरेल, रसुवागढी- काठमाण्डौ -पोखरा-लुम्बिनी रेलमार्ग र वीरगञ्ज-काठमाण्डौ रेलमार्गको काम अघि बढाउनेसहितका योजना समेटेर पन्धौं पञ्चवर्षीय योजनाको आधारपत्र तयार पारेको छ ।
अरुण तेस्रो, बुढीगण्डकी, माथिल्लो कर्णाली, तनँहु, माथिल्लो अरुण जलविद्युत आयोजना, तमोर, आँधीखोला, उत्तरगंगा र दुधकोशी जलाशययुक्त आयोजना, अन्तरदेशीय विद्युत प्रसारण लाइन र ९९ प्रतिशत नेपालीको घरमा बिजुली पुर्याउनेसहितका योजना पनि पञ्चवर्षीय योजनामा समेटिएका छन् ।
योजना आयोगले केही योजनालाई राष्ट्रिय विकासमा ‘गेम चेन्जर‘’ योजनाको रुपमा ब्याख्या गरेर समावेश गरेको छ ।