Trending :
 

मलेसियामा हुने गोजु-रियो कराँतेमा भाग लिन जाने खेलाडीलाई विदाई

बैशाख १५,२०७६

-

बैशाख १५,२०७६ काठमाडौं । 
आगामी मे ३ देखि ६ तारिख (बैशाख २०-बैशाख २२) गतेसम्म मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता-२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।
 
आईतबार रिपोर्टर्स क्लब नेपालमा ओकिनावा गोजु–रियो एसोशिएशन नेपालद्धारा आयोजना गरेको बिदाई कार्यक्रममा १७ देशको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको आज बिदाई गरिएको हो । 
 
एसोशिएशनका अनुसार उक्त प्रतियोगितामा विवश घिमिरे (-६५), विनोदमान श्रेष्ठ (+८०) र कुमार चौलागाई (-६०) ले सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायक भूमिकामा रञ्जनमान श्रेष्ठ र टोली व्यवस्थापकमा जितेन्द्र प्रसाद साह रहनेछन् । 
 
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वलाल जोशीलगायतले खेलाडीहरुलाई विदाई गरेका हुन् । 
 
एशोसिएशनका केन्द्रीय सचिव पुरन गिरीको सभापतित्वमा आयोजित विदाई कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुद्ध नेपालमा जन्मेर फैलाएको ज्ञान र धर्मलाई संसारले मान्ने तर नेपालमै बौद्ध धर्मसंग सम्बन्धित खेललाई नेपालको राष्ट्रिय खेलको रुपमा नहेर्नुले खेललाई सरकारले प्राथमिकता दिन नसकेको गुनासो पोखे । 
 
सम्पुर्ण मार्सल आर्टका खेलहरु बुद्ध धर्मसंग सम्बन्धित रहेको बताउदै उनले जुडो, उस्सु, ताईकुण्डो र कराँतेका खेलहरु एकै वर्गका भएको पनि टिप्पणी गरे । 
 
कराँते खेलमा उमेरको कुनै समय सिमा नरहेको बताउदै उनले सबैभन्दा बढि पदक पनि कराँतेले नै जितेको जानकारी गराएका थिए ।
 
कराँतेलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकत्ता औंल्याउँदै उनले सरकारले पनि उचित लगानी गर्न आवश्यक रहेको बताए । 
 
साथै, उनले प्रतियोगितामा सहभागी खेलाडीहरुले राम्रो प्रर्दशन गरेर देखाए आफुलेपनि आर्थि सहयोग गर्ने घोषणा गरेका छन् । 
 
कार्यक्रममा प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको गुनासो पोखे ।
 
राज्यले सहयोग नगरेपनि उक्त प्रतियोगितामा तीनै जना नेपाली खेलाडीहरुले स्वर्ण पदक जित्नेसमेत उनको उद्धघोष छ । 
 
कार्यक्रममा साउथ एशिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले कराँते खेलको जन्म जापानबाट नभई नेपालबाटै भएको दाबी गरे । उनले कराँते खेलको संरक्षण र प्रर्वद्धनमा सबैले जोड दिनुपर्ने आवश्यकत्ता औंल्याए ।
 
त्यस्तै कार्यक्रममा राष्ट्रिय झण्डा महाअभियानका अभियन्ता पुरन गिरीले प्रतियोगी खेलाडीको मनोबल बढाउन आफुहरुको हौसला, साथ र सहयोग सदैव तयार रहेको धारणा राखेका थिए ।