स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ सोसलिस्ट वर्कर पार्टीको जित
-
बैशाख १६, २०७६ काठमाडौं ।
स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ सोसलिस्ट वर्कर पार्टीले अन्य प्रतिष्पर्धी दलहरुलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ । अब त्यहाँ समाजवादी नेता पेड्रो सान्चेजको नेतृत्वमा सरकार बन्ने छ ।
स्पेनको ३५० सिट रहेको तल्लो सदन र २६६ सिट रहेको माथिल्लो सदन ()का लागि आइतबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पेड्रो सान्चेजको दलले १२३ स्थानमा जित हासिल गरेको हो । यो कुल सिटको २९ प्रतिशत हो ।
बहुमत सरकार गठनका लागि १७६ सिट आवश्यक पर्दछ । सोललिस्ट वर्कर पार्टीले सबैभन्दा धेरै २९ प्रतिशत सिट जिते पनि बहुमत हासिल गर्न भने सफल भएन । त्यसैले स्पेनमा अब मिलिजुली सरकार बन्ने छ ।
बितेका चार वर्षको अवधिमा स्पेनमा भएको यो तेस्रो निर्वाचन हो ।
सान्चेजले गठबन्धन सरकार गठनका लागि क्षेत्रीय दलहरुसँग वार्ता सुरु गरेको बताएका छन् । उनले वार्तामा सीमित घेरा नराख्ने पनि बताएका छन् ।
निर्वाचन जितेपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै सान्चेजले संविधानको सम्मान गर्ने र सामाजिक न्यायलाई प्राथमिकता दिने बताएका छन् ।