गुल्मी दजाकोटमा फैलिएको झाडापखाला नियन्त्रणमा आउदै
पानीमा कोलिफर्मको मात्रा धेरै, झण्डे दुई हजार मानिस बिरामी !
-
वैशाख १७,२०७६ काठमाडौं ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका छन् ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका अनुसार उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका हुन् ।
झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
झाडापखलाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ भने १९२ जना विरामी भइ उपचाररत छन् ।
झाडापखालाका विरामीमध्ये ५९ वर्षीया कुमारी सिंजालीको चितवन मेडिकल कलेजमा, ६ जनाको गुल्मी अस्पतालमा र अन्यको स्थानीय एक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल र मुसिकोट नगरपालिकाको सहभागितामा र्यापिड रेस्पोन्स टिम परिचालन गरिएको छ । पानी शुद्धीकरण गर्न ५ हजार चक्की क्लोरिन वितरण गरिएको र झाडापखाला नियन्त्रणमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।
महाशाखाले रोग नियन्त्रण र व्यवस्थापनका लागि नमूना परीक्षण गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सकसहितको टोली प्रभावित स्थलमा परिचालन गरेको थियो ।
घटनाको पूर्ण विवरणसहित प्रतिवेदन पेश गर्न लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल अधिकृत दुर्गा खत्रीको नेतृत्वमा स्वास्थ्य निर्देशनालयका हे.अ.कृष्ण यादव र गुल्मी अस्पतालका शिशिर सिलवाल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरी घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ ।