अब वाइड बडीबाट ४५ हजार रुपैयाँमै जापानको यात्रा गर्न सकिने !

बैशाख १७,२०७६

-

वैशाख १७,२०७६ काठमाडौं । 
 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट ४५ हजार रुपैयाँमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।
 
आउँदो असार १९(४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाण्डौ-ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि सुरु गर्नेछ ।
 
जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सिधा उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनका लागि झण्डै ४५ दिन लाग्ने छ ।
 
सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट-ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ ।
 
निगमले काठमाण्डौ-ओसाकाका लागि वाइड बढी ए-३३० जहाजमार्फत उडान गर्नेछ । काठमाण्डौ-जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गएको असार र साउन महिनामा निगमले खरिद गरेका दुई वाइड बडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा  पालैपालो उडान भर्दै आएका थिए ।
 
निगमले गएको माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भित्र्याएको थियो  ।
 
निगमले जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्नका लागि प्रक्रिया अघि बढाएको छ । यो विमानस्थलमा सातामा दुई उडान भर्ने निगमको योजना छ । “नारिता उडानका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिनेछ”, सहायक प्रवक्ता कोइरालाले भन्नुभयो ।
 
निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साइँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो ।
 
नेपाल-जापानबीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सले जापानको हानेदा एयरपोर्टबाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक दुई उडान नेपालबाट जापानका विभिन्न शहरमा गर्न मिल्ने छ । 
 
नेपाली एयरलाइन्सले जापानका विमानस्थलबाट अमेरिकाबाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।
 
गएको पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला  हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ-नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो ।
 
निगमले चीनको गोञ्जावो उडानका लागि पनि कागजी प्रक्रिया सुरु गरेको छ । त्यहाँ सातामा तीन उडान गर्ने योजना छ । त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट ९जीएसए०’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ ।
 
निगमले वाइड विमान चालक (पाइलट) को थप व्यवस्था गर्दैछ । वाइड बडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही सङ्ख्याका सहचालक चाहिन्छ । दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए-३३० जहाज, दुई न्यारो बडी ए-३२० जहाज र एक बोइङ ७५७ जहाज छन् । रासस