जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण,जनताप्रति बफादार रहने प्रतिबद्धता
-
वैशाख १८,२०७६ टोकियो ।
जापानका सम्राट नारुहितोले मंगलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका छन् । उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा भएका छन् ।
शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उनलाई मंगलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो ।
राजगद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैँ साथ रहने वचनबद्धता प्रकट गरे ।
विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मंगलबार मध्यरातमा क्रिसेन्थिमम थ्रोन नाम दिइएको विशिष्ट रुपमा सजाइएको राजगद्दीमा राखिएको थियो ।
उनका बुबा सम्राट अकिहितोले मंगलबार राजगद्दी त्यागेका थिए । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो ।
मैले विशेष जिम्मेवारी ग्रहण गरेको बारेमा सोच्दै गर्दा ममा गम्भीरताको अनुभूति भएको छ, नारुहितोले भने । आफ्ना बुबाको शान्तिप्रतिको निष्ठाबारे टिप्पणी गर्दै नारुहिताले सम्राट अकिहितो र विगतका सम्राटहरुले कोरेको मार्गलाई आफूले गम्भीर रुपमा प्रतिबिम्बित गर्ने बताए ।
उनले जापानको संविधानप्रति पूर्ण बफादार रहने प्रतिबद्धता व्यक्त गरे । संविधान बमोजिम जापानी सम्राटलाई राजनीतिक अधिकार हुँदैन । तर जापानी राजतन्त्रले राष्ट्रिय प्रतिकका रुपमा जिम्मेवारी वहन गर्ने परम्परा छ । उनले भने, म जनताको खुशी तथा मुलुकको विकासका साथै विश्व शान्तिका लागि पूर्ण इमान्दारीका साथ कार्य गर्नेछु ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नारुहितोलाई २८ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारी घोषणा गरिएको थियो । उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो ।
जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो मानिन्छ । जापानी समाजमा इश्वरको रुपमा लिइने राजसंस्थाको प्रारम्भ इसापूर्व ६०० देखि भएको मानिन्छ ।