ताँजाकोटको झाडापखला नियन्त्रणमा, चिकित्सक टोली सुर्खेत फर्कियो
-
बैशाख १९, २०७६ काठमाडौं ।
चैतको अन्तिम सातादेखि ताँजाकोटमा फैलिएको अज्ञात रोग नियन्त्रणमा आएको छ। रोग नियन्त्रणमा आएसँगै उपचारमा खटिएको चिकित्सक टोली बुधबार सुर्खेत फर्किएको छ।
ताँजाकोटको अवस्था सामान्य भएकाले डाक्टर केएन पौडेलको नेतृत्वमा ताँजाकोट आएको टेकराज भट्टराई, केशव अधिकारी र अन्य स्वास्थ्यकर्मीको टोली सुर्खेत फर्किएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए।
ताँजाकोटमा सो रोगका कारण १० जनाले ज्यान गुमाएका थिए। गत आइतबार कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट औषधिसहित डा. केएन पौडेलको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली ताँजाकोट पठाएको थियो।
त्यस्तै मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रका डा. मनोज तिमिल्सिना पैदलमार्गबाटै आइतबार बिहान प्रभावित क्षेत्रमा पुगेका थिए। उपचारमा संलग्न ती टोलीले मंगलबार बेलुकासम्म तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी सात सय ४४ बिरामीको चेकजाँचसहित उपचार गरेका थिए।
रोगको रोकथाम र पहिचानका लागि प्रभावित क्षेत्र ताँजाकोटमा पुगेका चिकित्सकले अवस्था सामान्य भएपछि उपचार गर्न आउने बिरामीको संख्या घटेकाले मंगलबार जम्मा ६९ जनाको मात्र चेकजाँच गरिएको बताए ।
गाउँको अवस्था सामान्य हुँदै गएपछि मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रबाट आएको टोलीबाहेक कर्णाली प्रदेश सरकारको समन्वयमा सुर्खेतबाट डाक्टर केएन पौडेलको नेतृत्वको टोली बिरामीको खकारको नमुना ९थ्रोट स्वाब० सहित बुधबार सुर्खेत फर्किएको हो ।
खोकी लाग्ने, बढी ज्वरो आउने, अलिकति पखाला लाग्ने र सास फेर्न गाह्रो हुने सो रोगबाट बालबालिका र बुढाबुढी बढी प्रभावित भएका थिए।
आइतबारदेखि मंगलबारसम्म तीन दिन चेकजाँचमा आएका सात सय ४४ जनामध्ये दुई सय २९ जनामा रुघाखोकीको लक्षण देखिएको डाक्टर केएन पौडेलले बताए। पहिलेको तुलनामा बिरामी निकै कम छन्, अवस्था सामान्य भएको उनले बताए।