Trending :
 

मोदीविरुद्ध निर्वाचनमा उठेका भूपू सैनिकको उम्मेदवारी रद्द

बैशाख १९,२०७६

-

बैशाख १९, २०७६ काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ।
 
उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का जवान तेजबहादुर यादवको उम्मेदवारी बनारसको निर्वाचन कार्यालयले रद्द गरिदिएको हो।
 
उनले पाकिस्तानस्थित सीमाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई गुणस्तरहीन खाना दिने गरिएको भन्दै सार्वजनिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि त्यसले ठूलै तरङ्ग उत्पन्न गरिदिएको थियो।
 
त्यसको चार महिनापछि मिथ्या आरोप फैलाएको भन्दै उनी सेवाबाट हटाइएको थिए।
 
निर्वाचन कार्यालयले सरकारी सेवाबाट बर्खास्त गरिएका व्यक्ति पाँच वर्षसम्म चुनाव लड्न नपाउने निर्णय गरेको छ।
 
तेजबहादुर यादवले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने बताए।
 
उनले भने, “मैले प्रमाण पेस गरिसकेको छु। तैपनि मेरो उम्मेदवारी गलत तरिकाले रद्द गरिएको छ। म सर्वोच्च अदालत जान्छु।“
 
पहिले स्वतन्त्र उम्मेदवारी दिएका यादव पछि समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) को संयुक्त उम्मेदवारको रूपमा मोदीविरुद्ध उठेका थिए।
 
क्षेत्रीय दलहरूले भारतीय जनता पार्टीका मोदी र विपक्षी कांग्रेस विरूद्ध मोर्चाबन्दी गरेका छन । बिबिसी