विभिन्न विधामा स्वर्ण पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान
-
बैशाख १९, २०७६ काठमाडौं ।
सरकारले विभिन्न विधामा देशलाई स्वर्ण पदक जिताउन सफल तथा देशको नाम उच्च बनाउन सफल खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता सागमा स्वर्ण जितेको पुरुष फुटबल टिमका सदस्य, संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको क्रिकेट टोलीका सदस्यहरु र १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई सम्मान सहित पुरस्कार रकम प्रदान गरेको छ ।
सरकारले २० सदस्यीय फुटबल टोलीको बाँकी रहेको तीन लाख रुपैयाँ हस्तान्तरण गरेको हो । सन् २०१६ मा भारतको सिलोङ र गुवाहाटीमा भएको सागमा पुरुष फुटबललमा नेपालले स्वर्ण जितेको थियो ।
सरकारले स्वर्ण पदक विजेता खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको थियो । त्यस्तै ऐतिहासिक सिरिज विजेता १६ सदस्सीय नेपाली टोलीलाई बिहिबार सरकारले जनही ५-५ लाख नगदसहित सम्मानित गरेको हो ।
सरकारले १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई पनि ५ लाख प्रदान गरेको हो । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलाडीहरुलाई नगद प्रदान गरेका हुन् ।