Trending :
 

एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न सांसदहरुको माग !

बैशाख १९,२०७६

-

बैशाख १९,२०७६ काठमाडौं ।
सांसदहरुले खाना पकाउने एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न माग गरेका छन् ।
 
प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले घरायसी र व्यापारिक प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक–फरक गर्न माग गरेका हुन् ।
 
सत्तारुढ नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले व्यावसायिक प्रयोजनका लागि खाना पकाउने ग्यासमा भ्याटछुटको व्यवस्था रहेकाले घरायसी प्रयोगकर्तालाई सुलभ हुनेगरी व्यावसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य कायम गर्न माग गरे ।
 
उनले यसअघि नीलो र रातो रङका ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको भएपनि कमिसनका कारण सफल हुन नसकेको भन्दै अब व्यवसायीलाई दिइँदै आएको भ्याट फिर्ता बैंक अकाउन्टमार्फत् हुने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले काठमाडौं उपत्यकामा रहेका मापदन्डविपरीतका पेट्रोलपम्प सरकारले हटाउन नसकेको भन्दै आलोचना गरे ।
 
बैठकमा समितिका सदस्यहरुले नेपाल आयल निगमको डिपो स्थापना गर्न जग्गा खरिदमा भएको अनियमितताबारे पनि प्रश्न उठाएका थिए ।
 
सांसदहरुले २०७२ साल चैत १९ गते समितिले दिएको ग्यास उद्योग दर्ता रोक्न निर्देशन कार्यान्वयनबारे आयल निगमका पदाधिकारीसँग चासो राखेका थिए ।
 
समितिले पेट्रोलपम्प र नयाँ ग्यास उद्योग स्थापनाबारे छलफल गर्न आयल निगमका पदाधिकारीलाई बोलाएको थियो ।