Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

अफगानिस्तानमा कार बम हमला,१८ जनाको मृत्यु

जेठ १४,२०७४

-

 

१४,जेठ काबुल-

 अफगानिस्तानको पूर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ‘क्याम्पियन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी आक्रमण भएको अधिकारीले बताएका छन् ।

ट्याक्सी पार्क गर्ने ठाउँ नजिकै सुरक्षाकर्मी आफ्नो शिविरतर्फ गइरहेको बेला कार बम हमला भएको थियो । घटनामा परी कैयौं स्थानीय बासिन्दा घाइते भएका छन् । घटनास्थल पाकिस्तानसँगको सीमा क्षेत्रमा पर्दछ । यो आत्मघाती हमलाको जिम्मेवारी तालिबान समूहले लिएको खोस्ट प्रान्तका गभर्नरका प्रवक्ता मुबारिज जद्रानले जनाएका छन् । रमदानको तयारी भइरहेका बेला यस प्रकारको घातक हमला भएको हो ।

‘१८ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्,’ उनले भने, ‘अफगान सुरक्षाबल र अमेरिकी सैनिकलाई लक्षित गरी आक्रमण गरिएको भए पनि त्यसमा सबैभन्दा बढी सर्वसाधारण जनता परेका छन् ।’ रमदानको अवसरमा शनिबार सार्वजनिक बिदा रहेको अवस्थामा बजारमा सर्वसाधारणको भिड भएको समयमा विस्फोट हुँदा सर्वसाधारण परेका हुन् । शुक्रबार मात्रै हेरात प्रान्तमा भएको आक्रमणमा महिला र बालबालिकासहित १० जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।