जेठ १४,२०७४
-
काठमाडौं, १४ जेठ
‘मौनता तोडौं र महिनावारीको बिषयमा कुरा गरौं’ भन्ने नाराका साथ एक्सपोज नेपालले साइकल र्यालीको आयोजना गरेको छ ।
एक्सपोज नेपालले मे २८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा नेपाल साइकल संघको प्राविधिक सहयोगमा दुई सय पचासभन्दा बढी साइकल यात्रीको सहभागी थिए ।
र्यालीका सहभागीहरुले ‘हरेक पुरुष बन्छ जिम्मेवारी जब बोल्छ स्वस्थ महिनावारी’, ‘स्वस्थ महिनावारी हामी सबैको कर्तब्य हो’, ‘स्वस्थ महिनावारी हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पुरुषसमेतको सहभागितामा महिनावारीबारे सचेतना फैलाउन अझ बढी सहयोग पुग्ने विश्वास व्यक्त गरे । महिनावारीका बारेमा चेतना जगाउनका लागि विभिन्न खाले कार्यक्रम हुने गरे पनि पुरुषको समेत सहभागितामा अझै बढी जनतामाझ महिनावारी सचेतना फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताए ।
नेपाल साइकल संघको प्राविधिक सहयोगमा भएको र्यालीमा साइक्लिङमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त संस्था कोराको पनि समर्थन रहेको थियो ।
महिलामाथि हुने यौन दुर्व्यवहारको क्षेत्रमा काम गर्दै आएको एक्सपोज नेपालले विगत १० वर्षदेखि विशेषगरी शहरी क्षेत्रमा हुने गरेका दुर्व्यवहारलाई कम गराउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रमुख समाचार