घरमा ताला लगाएर यार्सा संकलन गर्न लेकतिर जानेहरुको लर्को
विद्यालय तीन महिनाका लागि बन्द !
-
बैशाख २५,२०७६ काठमाडौं ।
विगतका वर्षहरुमाझैं यो वर्ष पनि यार्सागुम्बा संकलन गर्नका लागि लेकतिर जाने बझाङगेलीहरुको लर्को लागेको छ ।
बझाङका सुर्मा, काँडा, मस्टा, छविस पाथीभरा गाउँपालिका र बुंगल नगरपालिकाका सर्वसाधारण यार्सा संकलन गर्न लेकतिर जान थालेका हुन् ।
तीन महिना यार्सा संकलन गरेर झन्डै एक वर्षसम्म खान पुग्ने भएपछि यहाँका स्थानीयहरु सहपरिवारसहित यार्सा संकलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताए ।
घरमा ताला लगाएर यार्सा संकलन
यार्सा बेचेरै यहाँका धेरै स्थानीयले सदरमुकाम चैनपुर, धनगढी, महेन्द्रनगर, काठमाडौंसम्म घर–जग्गा जोडेका छन् ।
अहिले लेकमा हिउँ भएपनि तल्लो ‘बेल्ट’तिर यार्सा पाइन थालेपछि स्थानीय त्यसतर्फ लागेका हुन् ।
वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका उनीहरु असारको अन्तिमतिरमात्र घर फर्कन्छन् ।
सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयहरु घरमा ताला लगाएर यार्सा संकलन गर्न जाने गरेको सुर्मा गाउँपालिकाका प्रेमबहादुर बोहराले बताए ।
यहाँ पाखो जमिन भएका कारण उब्जनी नहुने र तीन महिना यार्सा संकलन गरेर वर्षभरि परिवारको लालनपालन गर्ने गरेको उनले बताए ।
सुत्केरी महिला, हिँड्डुल गर्न नसक्ने वृद्धवृद्धा र स–साना हिँड्डुल गर्न नसक्ने बालबालिकाबाहेक सबै अहिलेको ‘सिजन’मा यार्सा संकलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताए ।
विद्यालय बन्द
सरकारले पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट बन्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङका धेरैजसो सरकारी विद्यालय तीन महिनाका लागि बन्द गरिएका छन् ।
विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकहरुसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालयहरु असार मसान्तसम्मका लागि बन्द भएका हुन् ।
जिल्लाका साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकाका सबै विद्यलायहरु बन्द भएका छन् । तल्कोट गाउँपालिका र बुंगल नगरपालिकाका केही विद्यालयहरु बन्द भएका छन् ।
अझै केही विद्यालयहरु बन्द हुनसक्ने साइपाल गाउँपालिकाका स्थानीय वसन्त बोहराले बताए ।
विद्यालय बन्द भएपछि विद्यार्थीहरुसँगै केही शिक्षक–शिक्षिकाहरु पनि यार्सागुम्बा टिप्न पाटनतिरै उक्लिएका छन् ।
चैतको अन्तिम साताबाट यार्सागुम्बा संकलन सुरु गरी असारको मसान्तसम्म टिप्नेक्रम जारी हुनाले तीन महिना विद्यालयहरु पूर्णरुपमा बन्द हुने साइपाल गाउँपालिकाका एक शिक्षक उज्ज्वल बोहराले बताए ।
‘विद्यार्थीहरु सबै यार्सा टिप्न जाने भएकाले अभिभावकहरुको सहमतिमा नै विद्यालय बन्द गर्ने गरिएको छ’-उनले भने ।
अब एकैपटक आगामी साउनमा विद्यालय खुल्ने र केही विद्यार्थीले भर्ना पनि त्यतिबेलै गर्ने गरेका उनको भनाइ छ ।
अन्यत्रबाट पनि आउँछन्
समुद्री सतहदेखि चार हजार मिटरभन्दामाथिको उचाइ क्षेत्रमा पाइने यार्सागुम्बा टिप्नका लागि अहिले यहाँ छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाटसमेत मानिस आउनेक्रम सुरु भइसकेको छ ।
यार्सागुम्बा टिप्न र व्यापारका लागि सुर्खेत, रुकुम, रोल्पा, काठमाडौं, भारत र चीनको तिब्बतबाटसमेत यहाँ ठूलो संख्यामा मानिस आउने गरेका छन् ।
धेरै उचाइमा गएर काम गर्नुपर्ने र पालमुनिको बास हुने हुनाले विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने गर्दछन् । कतिपयले ज्यानैसमेत गुमाउने गरेका छन् ।
‘योपाला समयमै हिउँ र पानी पनि प्रशस्तै परेकोले अघिल्लो वर्षभन्दा पक्कैपनि बढी यार्सा पाइएला भन्ने आशा रहेको छ’–सुर्मा गाउँपालिका–१, दौलिचौरका एकजना यार्सा संकलक गणेश बोहराले बताए ।
यार्सा संकलन गर्ने ठाउँमा सुरक्षा व्यववस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।इमेज खबरबाट