बैशाख ३०,२०७६
-
३० वैशाख, काठमाडौं । १२ औं संस्करणको आईपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले हात पारेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई रोमान्चक ढंगले १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि जित्न सफल भएको हो ।
मुम्बईले दिएको १४९ रनको चुनौत्तिमा चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो जसका कारण १ रनले मुम्बई विजय हुन पुग्यो । हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो ।
मुम्बईको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले समान १५-१५ रन बनाए ।
बलिङतर्फ दीपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए ।
चेन्नईका लागि शेन वाट्सनले ८० रन बनाए पनि जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान महेन्द्रसिंह धोनी २ रनमा आउट भए ।
बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लासिथ मलिंगा र राहुल चहरले एक-एक विकेट लिए ।
यो जितसँगै मुम्बई आईपीएलको सबैभन्दा सफल टिम बनेको छ । उसले पछिल्लो सात वर्षमा चौथो पटक आईपीएलको उपाधि जितेको छ । यसअघि मुम्बई २०१३, २०१५ र २०१७ मा पनि आईपीएल च्याम्पियन बनेको थियो । सन् २०१७ मा पनि मुम्बईले एक रनको जित निकाल्दै आईपीएलको उपाधि जितेको थियो । त्यतिबेला मुम्बईले राईजिङ पुणे सुपरजाइन्ट्सलाई एक रनले हराएको थियो ।
जसप्रित बुम्राह म्यान अफ द म्याच बने । उनी सन् २०१७ को फाइनलमा पनि म्यान अफ द म्याच बनेका थिए ।
आईपीएल २०१९ को १२ औं संस्करणमा सबैभन्दा धेरै २६ विकेट लिन सफल इमरान ताहिर बने । दिल्लीका कगिसो रबाडालाई एक विकेटले पछि पार्दै इमरानले पर्पल क्याप जिते ।
प्रमुख समाचार
सम्वन्धित समाचार