संघीयता कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्नेमा अर्थविद्को सुझाव
-
जेठ १,२०७६ काठमाडौं ।
अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेटविशेष साक्षात्कारमा बोल्दै पूर्व मुख्य सचिव डा. विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुने स्पष्ट पारे ।
कोइरालाले भने,‘यसअघिका बजेटहरु प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो ।
पूरा नहुने कुरा धेरै हुन्थे । बजेटको पुस्तिका फोहोर भयो ।’ संघीयताको आभाष नहुने बजेट ल्याउन नहुने उनको सुझाव छ ।
सरकारले जनतासामू देखाएको आशा पूरा गर्नुपर्नेपनि उनको भनाई छ ।
उनले भने,‘हाम्रो स्रोतको आयतन साँघुरो छ । सरकारले अब प्राथमिकताहरु तोक्नुपर्छ । जनताका जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरु ल्याउनुपर्छ ।
पेचिला प्रश्नहरु सामना गर्ने कार्यक्रम ल्याउनुपर्छ ।’ क्षणिक तुष्टिको निम्ति दिर्घकालिन सन्तुष्टिलाई तिलाञ्जली दिन नहुने उनले तर्क गरे ।
सरकारले अघि सार्ने कतिपय परियोजनाहरु राजनीतिक रुपले ठिक भएपनि सामाजिक–आर्थिक दृष्टिकोणले ठिक नहुनेपनि उनले सचेत गराए ।
संघीयता कार्यान्वयनको लागि छरितो केन्द्रको कल्पना गरिने बताउँदै प्रदेशले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने कोइरालाले बताए ।
त्यस्तै, स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
सरकारले न्यायपूर्ण वितरण प्रणालीलाई बढावा दिनुपर्ने उनको अर्को सुझाव छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले संघीयतालाई जोडदार रुपमा कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्ने सुझाव दिए ।
क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानी सरकारले सानातिना आयोजनाहरु हेर्नेगरि बजेट ल्याउन सरकारलाई सुझाए । उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुनेपनि तर्क गरे ।
विगतमा एक सातामा कुल बजेटको ११ प्रतिशत बजेट खर्च भएको तितो सुनाउँदै बजेटको कार्यान्वयनको अनुगमनमा पनि विशेष जोड दिनुपर्ने धारणा राखे ।
त्यस्तै, रकमान्तर गर्ने कुरापन िसंवेदनशील रहेकोले यसतर्फपनि सरकार सचेत हुनुपर्ने उनको भनाई छ ।
वर्तमान सरकारलाई समाजवादउन्मुख अर्थतन्त्रको दिशा समात्ने अवसर भएकोले नेतृत्वले अवसर गुमाउन नहुने पनि क्षेत्रीले बताए ।
अर्का अर्थविद् डा. चन्द्रकान्त पौडेलले योजना आयोगको १५ औं योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्नेमा जोड दिए । संस्थागत सुधारहरु देखा परेका छन् । भर्खरै उत्साहजनक लगानी सम्मेलन भएको छ ।’
उनले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए ।
पौडेलले पूर्वाधार विकासमा जोड दिनेगरि बजेट आउने विश्वास दिलाए । औद्योगिक क्षेत्रलाई पनि विशेष जोड दिनेगरि बजेट आउनुपर्ने पौडेलको भनाई छ ।