Trending :
 

पुण्यतिथिमा भोज खादा झाडापखालाले पाल्पा तिनाउका झण्डै सय जना बिरामी

जेठ ०३,२०७६

-

जेठ ३, २०७६ काठमाडौं ।
 
पाल्पाको तिनाउ गाउँपालिका-४, बौरीडाँडामा झाडापखालाबाट ९४ जना बिरामी भएका छन् । ११ जनाको अवस्था गम्भीर छ । 
 
गम्भीर बिरामीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकीको गाउँकै सडक छेउका टहरा, बारी, सडकमा राखेर उपचार गरिएको छ । 
 
बिरामीलाई औषधि खुवाउने, स्लाइन पानी चढाउने र निगरानी गरिएको स्वास्थ्यकर्मी रविचन्द्र हरिजनले बताउनुभयो ।  उहाँका अनुसार सामान्य बिरामीलाई आफ्नै घरमा उपचार गरिएको छ ।
 
सदरमुकाम तानसेनबाट उपचारका लागि बिहीबार दिउँसो पुगेका सबै स्वास्थ्यकर्मीको टोली फर्किएको छ । स्थानीयका अनुसार बिहीबार बिहानैदेखि गाउँमा झाडा र बान्ता फैलिएको थियो ।
 
बुधबार गाउँकै सिमबहादुर ठाडाको घरमा मृत्यु भएको १३ दिनको चोखिनेमा खाना खाएकाहरु बढी बिरामी परेका छन् । हावाका माध्यमबाट समेत सर्ने भएकाले खाना नखाएकाहरु बिरामी परेका छन् ।
 
त्यहाँ बटुक, अचार लगायतका खाना खाएकाहरु बिरामी परेको स्थानीयले बताए । गाउँमा बुधबार राति नै एक दुई जनालाई झाडा र बान्ता भएको थियो । बिहीबार बिहान १० बजेपछि गाउँका धेरै जना बिरामी परेर अत्तालिएका थिए । 
 
गाउँकै तिलक सिंह दर्लामीको घरमा बिरामी परेका हुन् । बिरामी भएकाहरु कतिपय घरमै औषधि खाने, जीवन जल बनाएर त्यसलाई पिएर बसेका छन् ।
 
मान्छे मृत्यु भएको १३ औं दिनको पुण्यतिथिमा खाएको खानाबाट गाउँभरिनै झाडापखाला फैलिएको आशंका गरिएको छ,’ स्थानीय देवसिंह थापाले भने, ‘बिरामीहरु आत्तिएपछि कतिपयलाई प्रभाव उपचार गर्न पठाईयो ।’ 
 
गर्मीको समयमा बासी खाना खाँदा पनि यस्तो समस्या आएको हुन सक्ने गाउँमै पुगेका तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।