Trending :
 

चालु बजेटकोे राजस्व लक्ष्य पूरा गर्न टोली परिचालन

जेठ ०६,२०७६

-

जेठ ६,२०७६ काठमाण्डौ । 
अर्थमन्त्री युवराज खतिवडाले चालु बजेटकोे संशोधित राजस्व लक्ष्य पूरा गर्न टोली परिचालन गरेका छन्। अर्थमन्त्रीले यही जेठ २ मा आठ सदस्यीय टोली बनाएर यसलाई मुलुकभर परिचालन गरेका हुन्। 
 
चालु बजेटले करिब ३५ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य राखेको थियो। यो लक्ष्य कुनै पनि हालतमा पूरा नहुने देखिएपछि अर्थमन्त्री खतिवडाले मध्यावधि समीक्षामार्फत घटाएका थिए।
 
राजस्व असुलीको अहिलेको अवस्था हेर्दा घटाएको लक्ष्य पूरा हुने अवस्था पनि नदेखिएकाले टोली परिचालन गर्नु परेको हो। चालु आवको जेठ ४ सम्ममा सरकारले पाँच खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको ६६ प्रतिशत मात्र हो। यसमध्ये सरकारले करबापत पाँच खर्ब १४ र गैरकरमार्फत ५२ अर्ब रुपैयाँ संकलन गरेको हो। अबको बाँकी समयमा लक्ष्य फेला पार्न सरकारलाई समस्या छ।
 
यस्तै यही अवधिमा सरकारको कुल खर्च सात खर्ब २३ अर्ब रुपैयाँ भएको छ। यो लक्ष्यको ५५ प्रतिशत हो। यसमध्ये चालु खर्च पाँच खर्ब ३७ अर्ब र पुँजीगत खर्च एक खर्ब ३१ अर्ब हो।
 
टोलीमा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभागका उप–सचिव तहका आठ कर्मचारी छन्। चालु आर्थिक वर्षका लागि निर्धारित राजस्व संकलनको लक्ष्य हासिल हुने गरी ठोस र प्रभावकारी कार्य योजनासहित राजस्व संकलन कार्यमा संलग्न कार्यालयलाई परिचालन गर्न अनुगमन टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।