पब्जीको लत लागेपछि पत्नीले दिइन् डिभोर्सको निवेदन

जेठ ०६,२०७६

-

काठमाडौं –  [एजेन्सी]  अन्लाइन मोबाइल गेम पब्जी लोकप्रिय हुनुका साथै विवादित पनि छ । 

यसले गर्दा कैयौं मानिस मरेका छन् । अहिले त यस गेमले गर्दा डिभोर्सको स्थिति पनि आएको छ । भारतको गुजरातमा एक सन्तानकी आमालाई पब्जीको लत लागेपछि उनले पतिसँग डिभोर्स लिनका लागि महिला हेल्पलाइनको सहायता मागेकी छन् । 

महिला हेल्पलाइनकी अधिकारीले बताएअनुसार, डिभोर्सका लागि कल गर्ने महिला प्रतिष्ठित परिवारकी हुन् । 

अधिकारीले भनिन्, ‘महिलाको उमेर १९ वर्ष छ । उनी १८ वर्षकी हुँदा भवन बनाउने ठेकेदारसँग उनको विवाह भयो र छिट्टै छोरी पनि जन्माइन् । विवाहको केही महिनापछि महिलालाई पब्जी खेल्ने लत लाग्यो उनी घन्टौंसम्म यो गेम खेल्न थालिन् । त्यसैक्रममा उनी पब्जी खेल्ने एक युवकको सम्पर्कमा आइन् ।’

परामर्शदाता सोनल सागठियाले भनिन्, ‘पतिसँग कुनै विवाद नभएको महिलाले बताएकी छन् । उनी ती युवकसँग दिनदिनै च्याट गर्छिन् र तिनैसँग बस्न चाहन्छिन् । युवकसँग नजिकिएपछि महिलाले पतिसँग झगडा गरिन् अनि घर छोडेर माइतीमा बस्न थालिन् । डिभोर्स लिने निर्णयलाई महिलाका पिताले विरोध गरेका छन् ।’

परामर्शदाताले महिलालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न र हतारमा कुनै फैसला नलिन सल्लाह दिएकी छन् । महिलालाई पब्जीको लत छुटाउन मनोचिकित्सकको सल्लाह लिन भनिएको छ । 

पब्जी दक्षिण कोरियामा बनेको अन्लाइन गेम हो । यसमा भाग लिने खेलाडीहरूले जीवित रहन अनि गेम जित्नका लागि अर्कालाई मार्नपर्छ । हिंस्रक प्रवृत्तिको यस खेलको असर साना बच्चा, किशोर र वयस्कमा परिरहेको छ । उनीहरूको व्यवहार पनि हिंस्रक हुँदै गइरहेको छ ।