आर्थिक गतिविधि
जेठ १५,२०७४
-बीबीसी
१५ ,२०७४ जेठ,काठमाडौँ-
सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि सोमबार १२ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्न लागेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
यसपटक स्थानीय तहमा सिधै बजेट पठाइने व्यवस्था गरिएको तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा खर्च गर्न सक्ने क्षमताको आधारमा बजेट विनियोजन गरिएको बताइएको छ।
अर्थमन्त्रीले सोमबार दिउँसो ४ बजे संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
आउँदो बजेट गत आर्थिक वर्षको तुलनामा दुई खर्ब रुपैयाँले बढी छ।
राष्ट्रिय योजना आयोगले सरकारलाई बजेटका लागि ११ खर्ब ५६ अर्ब रुपैयाँको सीमा तोकेको थियो।
यो सरकारले संघीय संरचना अनुसार स्थानीय सरकारको निर्माण केही भइसकेको र केही छिट्टै हुने भएकोले स्थानीय तहलाई उनीहरुले नै योजना बनाउने र उनीहरुले नै कार्यान्वयन गर्ने व्यवस्था भए अनुसार सिधै स्थानीय तहमा बजेट विनियोजन हुन्छ।पुण्यप्रसाद रेग्मी, आर्थिक सल्लाहकार, अर्थ मन्त्रालय
बजेटमा ७४४ वटा स्थानीय तहलाई सिधै बजेट दिन लागिएकोले बजेटको आकार गत आर्थिक वर्षको भन्दा ठूलो हुने अर्थ मन्त्रालयका एक अधिकारीले बताए।
त्यसरी पठाइने बजेटपछि उनीहरुले नै योजनाको छनोट गर्ने अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले बताए।
उनले भने, "यो सरकारले संघीय संरचना अनुसार स्थानीय सरकारको निर्माण केही भइसकेको र केही छिट्टै हुने भएकोले स्थानीय तहलाई उनीहरुले नै योजना बनाउने र उनीहरुले नै कार्यान्वयन गर्ने व्यवस्था भए अनुसार सिधै स्थानीय तहमा बजेट विनियोजन हुन्छ।"
बजेटमा भूकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनाहरुमा जोड दिइएको बताइएको छ।
तर बजेटको खर्चको स्थिति हेरेर राष्ट्रिय गौरवका आयोजनालाई बजेटको व्यवस्था गरिएको रेग्मीले बताए।
उनले भने, "अहिलेसम्मको अनुभवमा के हो भने बजेट विनियोजन गर्ने तर पुँजीगत खर्च नहुने जुन परम्परा छ त्यसलाई अध्ययन अनुसन्धान गरेर आगामी बजेटमा खर्च हुन सक्नेलाई अलि बढी प्राथमिकता दिने र खर्च नहुनेलाई कटौती गर्ने व्यवस्था गरिएको छ।"
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट ल्याउन गरिन लागिएको हो।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनअघि ल्याइन लागिएकोले निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई निरन्तरता दिइएको सरकारले बताएको छ।
प्रमुख समाचार