Trending :
 

ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न बेलायती प्रधानमन्त्रीको आग्रह

जेठ ०८,२०७६

-

जेठ ८, २०७६ लन्डन । 
बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न सांसदहरुलाई अपील गरेकी छन् ।
 
प्रधानमन्त्री मेले यो प्रस्ताव संसद्बाट पास गर्ने अन्तिम मौका भएको समेत बताइन् । उनले संसदले युरोपेली संघबाट अलग हुने विधेयकको समर्थन गरे ब्रेक्जिटका बारेमा दोस्रो पटक जनमत संग्रह गर्ने मौकासमेत मिल्ने बताइन् ।
 
उनले यो महत्वपूर्ण मुद्दामा सदनले सच्चा र इमान्दारीपूर्वक भावनाको काम गर्ने विश्वास व्यक्त गरिन् । प्रस्ताव पास भए सरकारलाई दोस्रो जनमत संग्रह गराउने मुद्दामा मतदान गराउन आधार मिल्ने उनको भनाइ थियो । तर, युरोपेली युनियनबाट अलग हुन सम्झौतालाई अनुमोदन गरे मात्र यो सम्भव हुने उनको भनाइ थियो ।
 
यसअघि प्रधानमन्त्री मेले पेश गरेको विधेयक तीन पटक संसद्ले अस्वीकार गरिसकेको छ । तर यसपटक ल्याएको विधेयकमा निकै फेरबदल भइसकेको दाबी उनले गरिन् । उनले यसमा १० बुँदा थप गरिएको बताइन् ।
 
मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कार्बिनले भने आफ्नो पार्टीले यो विधेयकको समर्थन गर्न नसक्ने बताएका छन् । उनले पहिलेकै विधेयककै फेरिएको रुपका रुपमा संसद्मा ल्याइएको बताए ।
 
तर, प्रधानमन्त्री मेले यो विधेयकमा श्रमिक अधिकार, पर्यावरण सुरक्षा र उत्तर आयरल्यान्डको सीमा जस्ता मामिलाको समाधान गरिएको बताइन् ।
 
प्रधानमन्त्री मे कै पार्टीका केही नेताले समेत यो विधेयकको समर्थन गरेका छैनन् । 
 
कन्जरभेटिभ पार्टीका सौसद जैकव रिस–मागले पहिले गरिएको प्रस्तावभन्दा यो विधेयकमा खराव प्रावधान राखिएको टिप्पणी गरे । प्रधानमन्त्री मेले आगामी जुनको पहिलो साता यो विधेयक संसदमा पेश गर्दैछिन् । एजेन्सी