Trending :
 

बधाइ दिएका विश्वभरका नेतालाई मोदीको ट्वीटबाटै धन्यवाद

जेठ १०,२०७६

-

जेठ १०,२०७६ काठमाडौं ।
 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई ऐतिहासिक जित दिलाएकोमा विश्वभरका नेताले उनलाई बधाइ दिएका छन् ।
 
बिहीबार भएको मतगणनामा भारतीय जनता पार्टीले ऐतिहासिक जित हासिल गरेको हो । योसँगै मोदीले दोस्रो कार्यकाल सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।
 
ऐतिहासिक जित हासिल गरेकोमा मोदीलाई विश्वभरका नेताले बिहीबार बधाइ दिएका छन् । 
 
प्रधानमन्त्री केपी ओलीदेखि लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले बिहीबार मोदीलाई बधाइ दिए । अधिकांश नेताले ट्वीटरमार्फत मोदीलाई बधाइ दिएका हुन् ।
 
मोदीले आफूलाई बधाइ दिने सबैजसो नेतालाई धन्यवाद दिएका छन् । उनले ट्वीटरमा आएका बधाइ सन्देशमा जवाफस्वरुप धन्यवाद दिएका हुन् ।
 
प्रधानमन्त्री ओलीले दिएको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन्, ‘तपाईको हार्दिक शुभकामनाका लागि धन्यवाद ।’ नेपाल र भारत पुरानो समयदेखि घनिष्ठ मित्र र छिमेकी देश रहँदै आएको चर्चा गर्दै उनले दुई देशका नागरिकबीचको सम्बन्धले यसलाई अझ मजबुत बनाएको बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा लैजान प्रधानमन्त्री ओलीसँग सहकार्य जारी राख्न चाहेको जनाएका छन् ।
 
नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले दिएको बधाइ सन्देशको जवाफमा मोदीले नेपालसँग पारम्परिक रुपमा घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन आफू प्रतिबद्ध रहेको जनाएका छन् ।
 
राप्रपा अध्यक्ष कमल थापाको बधाइ सन्देशको जवाफमा मोदीले भारत नेपालसँग घनिष्ठ ऐतिहासिक सम्बन्ध र बहुआयामिक साझेदारीलाई महत्व दिने जनाएका छन् ।
 
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको बधाइ सन्देशको जवाफमा मोदीले यस क्षेत्रमा आफूले जहिले पनि शान्ति र विकासलाई प्राथमिकता दिएको जनाएका छन् । उनले बधाइ सन्देशका लागि इमरानप्रति हार्दिक आभारसमेत प्रकट गरेका छन् ।
 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन्, ‘म तपाईसँग निकटतापूर्वक द्विपक्षीय सम्बन्धका लागि काम गर्न उत्सुक छु, जो वैश्विक शान्ति र समृद्धिका लागि राम्रो होस् ।’ 
 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मोदीलाई ट्वीटरमा हिन्दी भाषामै बधाइ सन्देश दिएका छन् । उनले भनेका छन्, ‘तपाईको प्रभावशाली जितमा हार्दिक बधाई, यो चुनावी नतिजाले एक पटक फेरि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईको नेतृत्वलाई प्रमाणित गरेको छ ।’
 
 
जवाफमा मोदीले हिब्रो भाषामा भनेका छन्– धन्यवाद मेरो प्यारो मित्र, तपाईको बधाइ मेरालागि धेरै महत्व राख्छ, मलाई विश्वास छ, आगामी दिनमा हामी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने छौं ।