मानव अंगको मेशिन आफ्नै निजि अस्पतालमा !
नर्सहरुको आन्दोलन तुहाउन संघकी अध्यक्षलाई निर्देशक बनाउने गोप्य सहमति
-
जेठ १०, २०७६ काठमाडौं ।
अमर भाजु
शहिद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले गायिका आनी छोइङ डोल्माका नाममा निजी अस्पतालमा व्यापार गर्दै आएपछि विवादमा तानिएका छन् ।
सरकारी अस्पतालमा निर्देशक रहेका डा. श्रेष्ठले गायिका आनी अध्यक्ष रहेको आरोग्य फाउन्डेसनको नाम दुरुपयोग गरी आफ्नो र आफ्नै छोरीको लगानी रहेको निदान अस्पतालमा समेत काम गर्दै ब्रम्हलुट मच्चाएका छन् ।
आफ्नो नामको दुरुपयोग गर्दै डा. पुकारले निजी अस्पतालमा व्यापार गर्न थालेपछि आनी उनीसँग रुष्ट भएको निदान अस्पताल कर्मचारी श्रोतले बतायो । पछिल्लो समय उनीहरुबीच सम्बन्ध चिसिएर बोलचाल नै बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।
गरिब बिरामीलाई सस्तो र गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने भन्दै आनीको अध्यक्षतामा आरोग्य फाउन्डेसन स्थापना भएको थियो । डा. पुकार फाउन्डेसनका महासचिव हुन् । फाउन्डेसन र निदान अस्पताल एउटै परिसरमा रहेको छ ।
मिर्गौला फेल भएका बिरामीलाई सहज रुपमा कम शुल्कमा डायोलाइसिस सेवा दिन र मिर्गौला प्रत्यारोपण गर्नुपूर्व अनिवार्य रुपमा गर्नुपर्ने एचएलए जाँचका लागि फाउन्डेसन खुलेको हो ।
फाउन्डेसनले एचएलए मेसिन सञ्चालन गर्नुपूर्व नेपालमा उक्त मेसिन कँही पनि थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले उक्त परीक्षण गर्न भारतमा पठाउनु पर्ने बाध्यता थियो ।
गरिब बिरामीलाई सहज रुपमा सेवा दिने उद्देश्यले खोलेको फाउन्डेसनलाई डा. पुकारले दुरुपयोग गरेर व्यापार गरेको भन्दै फाउन्डेसन स्रोतले गैरनाफामूलक र सेवामूलक फाउन्डेसनको दुरुपयोग भएपछि आनी र डा. पुकारबीच विवाद भएको बताएको छ ।
बिरामीलाई सस्तोमा गुणस्तरीय सेवा दिन खोलेको फाउन्डेसन अन्तर्गत रहेको ल्याब निदानको स्वार्थमा प्रयोग भएको बताईएको छ ।
निदान अस्पतालका सबै बिरामीको रिपोर्ट फाउन्डेशनको प्रयोगशालामा परीक्षण हुने गरेको तर निदान अस्पतालले फाउन्डेशनलाई कुनै पनि शुल्क भने नतिर्ने गरेको निदान अस्पताल प्रशासनका एक कर्मचारीले जानकारी दिए ।
महँगो शुल्कमा निदान अस्पतालको स्वार्थमा फाउन्डेशनका मेसिन प्रयोग हुन थालेपछि आनीले विरोध गरेपछि डा. पुकारसंग आनी रुष्ट भएको बताएको छ ।
नर्सहरुको आन्दोलन तुहाउन संघकी अध्यक्षलाई निर्देशक बनाउने गोप्य सहमति
भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रमा अनशनमा बसेका नर्सहरुले १० बुँदे सहमति धोका भएको भन्दै अनसन जारी रहेको बताएका छन् ।
अस्पताल प्रशासनले झुक्याएर केही नर्सहरुसंग सहमति गरेपनि आफूहरुको मागकाबारेमा कुनै सम्बोधन नभएको भन्दै आज १३ दिनपनि अनसन जारी रहेको बताएका हुन् ।
नर्सहरुको पक्षमा बिभिन्न माग राख्दै सहिद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रमा अनसनरत नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत नर्स जिता बरालले आफ्नो अनसन र आन्दोलन जारी रहेको बताउनुभयो ।
गत आइतबार साँझ नर्सिङ संघको पहलमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र अनसनरत नर्सहरु बिच १० बुँदे सहमति धोका भएको र आफूहरुलाई त्यसबारेमा कुनै जानकारी नै नदिई अफवाह फैलाएर उल्टो षडयन्त्र गरेको आन्दोलनरत नर्सहरुको भनाई छ ।