सबैभन्दा बढी राजश्व तिर्नेमा आयल निगम
-
जेठ १६,२०७६ काठमाडौं ।
देशभर सञ्चालनमा रहेका ३६ वटा सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७४-७५ मा नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा संस्थानहरुको मुनाफामा सामान्य सुधार भएको सरकारी आँकडा छ ।
आव २०७३-७४ मा सार्वजनिक संस्थानको खुद मुनाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यतिबेला पनि नाफा कमाउने संस्थान यिनै २६ वटा थिए । आव ०७४-७५ मा मुनाफा केही बढेर ४३ अर्ब ४४ रुपैयाँ पुगेको छ । आँकडाअनुसार केवल ५ वटा संस्थानले कूल मुनाफाको ८१.७५ प्रतिशत हिस्सा ओगटेका छन् ।
जम्मा ६५ संस्थानमध्ये अहिले ३९ वटा मात्र अस्तित्वमा छन् भने तीमध्ये पनि ३६ वटा मात्र संचालनमा रहेका छन् । संचालनमा रहेका १८ वटा संस्थान पूर्ण सरकारी हुन् । यस्तै, १७ वटा संस्थानमा सरकारको ठूलो हिस्सा शेयर रहेको छ ।
सरकारले सामाजिक क्षेत्रमा सञ्चालित संस्थानमा बढी लगानी गरेको छ । बन्द अवस्थामा रहेका केही संस्थानले पनि भाडाबाट आम्दानी गर्दै आएको अर्थ मन्त्रालयले जनाएको छ ।