Trending :
 

युवा तथा खेलकुदका लागि २ अर्व २४ करोड बिनियोजन

जेठ १६,२०७४

-

जेठ १६ –

सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि घोषणा गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको पूर्वाधार बिकास तथा चालू कार्यक्रम निरन्तरताका लागि २ अर्व २४ करोड बजेट बिनियोजन गरेको छ ।

सोमबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएको बजेटमा खेलकुद र युवा दुवै शीर्षक जोडेर उक्त बजेट छुट्याइएको हो । त्यसमध्ये खेलकुदका लागि ८० प्रतिशत अर्थात १ अर्व ७९ करोड बजेट बिनियोजन हुने बताइएको छ । अघिल्लो आर्थिक वर्ष २ अर्व ८ करोड बजेट खेलकुदले पाएको थियो ।

काठमाडौंको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण प्रकियालाई प्रथामिकताका साथ अघि बढाइने बजेट भाषणमा उल्लेख गरियो ।

यस्तै देशका विभिन्न ८ स्थानमा निर्माण भइरहेको क्रिकेट मैदानलाई पनि निरन्तरता लिने उल्लेख छ ।

त्यसैगरी खेलाडीहरुलाई स्थाई लेखा नम्बर दिएर करको दायरामा ल्याउने योजना पनि बजेटमा समावेश गरिएको छ । साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन पनि प्रेरित गरिने उल्लेख छ।

खेलकुदबाहेक युथ भिजन २०१५ मा युवाको विकासका लागि उल्लेख भएका पाँच स्तम्भहरु  गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, परिचालन, सहभागिता र नेतृत्व विकासका साथै खेलकुद र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाइएको छ।