Trending :
 

अब अमेरिकी भिसा लिन सामाजिक सञ्जालको रेकर्ड पेश गर्नुपर्ने

जेठ १९,२०७६

-

जेठ १९,२०७६ काठमाडौं ।
 
अमेरिकी भिसाको लागि अब आवेदकले सामाजिक सञ्जालको रेकर्ड पनि राख्नुपर्ने भएको  छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो नियममा आवेदकले सामाजिक सञ्जालको नाम, ५ वर्ष यताका इमेल ठेगाना र फोन नम्बर पनि बुझाउनुपर्ने जनाइएको छ । 
 
यो नियम गएको वर्ष प्रस्ताव गरिएको थियो । यो नियमले वार्षिक रुपमा १४ दशमलब ७ मिलियन मानिसलाई प्रभावित पार्ने बताइएको छ । यो नयाँ नियम कतिपय कुटनीतिक र सरकारी भिसा आवेदकका लागि भने लागु नहुने जनाइएको छ । यद्यपि अमेरिकामा काम गर्नका लागि वा पढ्नका लागि जानेहरुले भने उनीहरुको सूचना हस्तान्तरण गर्नुपर्नेछ । 
 
‘‘हामीले अमेरिकी नागरिकलाई संरक्षण गर्नका लागि हाम्रो अनुगमन संयन्त्रमा निरन्तर सुधार गर्दै आइरहेका छौं, यसले आधिकारिक रुपमा अमेरिका यात्राका लागि मद्धत पनि गर्नेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।
 
पहिला भने आतंककारी गतिविधि भएका क्षेत्रका मानिसलाई थप अनुसन्धान गर्नुपर्दा मात्रै यस्तो रेकर्ड माग्ने गरिएको थियो । 
 
तर अब भने आवेदकको एकाउन्टको नाम तथा उनीहरुले चलाइरहेका सामाजिक सञ्जालहरुको नामसमेत दिनुपर्ने भएको छ ।  
 
कसैले आफूले सामाजिक सञ्जाल प्रयोग गर्ने कुराका बारेमा झूठो बोलेमा गंभीर खालको अध्यागमन सम्बन्धी परिणाम समेत भोग्नुपर्ने एक अधिकारीले बताएको बीबीसीले जनाएको छ ।