उत्तरी म्याग्दीका स्वास्थ्य अत्यावश्यक औषधिको अभाव
-
जेठ २०,२०७६ काठमाडौं ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ ।
१५ दिनदेखि गाउँपालिकाका ६ वटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएपछि जनताले सास्ती व्यहोर्न बाध्य भएका छन् । अन्नपूर्णका जनता जीवनजल र सिटामोल लिनका लागि सदरमुकाम बेनी आउनुपर्ने बाध्यतामा छन् ।
अन्नपूर्णमा विगत तीन महिना अघिदेखि सरकारले निःशुल्क उपलब्ध गराउने ३५ प्रकारका औषधिको समेत अभाव भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ शिख, वडा नं २ दाना, वडा नं १ दोवा, वडा नं ६ घार,वडा नं ८ राम्चे र वडा नं ७ हिस्तानका स्वास्थ्यचौकीमा जीवनजल पनि नभएको सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बताएका छन् ।
शिखको स्वास्थ्यचौकीमा जीवनजल लिन पुगेका एक स्थानीयलाई स्वास्थ्य चौकी इञ्चार्ज हेम पुनले जीवनजल नभएकाले तातोपानी पिउन सल्लाह दिएर फर्काएका थिए ।
घरमा छोरालाई पखाला लागेपछि तीनपटकसम्म स्वास्थ्यचौकीमा पुगेका स्थानीय टेकबहादुर पुर्जालाई जीवनजलसहित आवश्यक औषधिको अभावका कारण छिमेकी वडामा पुगेर ल्याउन स्वास्थ्यकर्मीले सुझाव दिएका थिए ।
गाउँमा निजी क्लिनिकसमेत नभएकाले सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिसमेत सदरमुकाममा पुगेर महँगोमा खरीद गर्नुपर्ने शिखवासीको गुनासो छ ।
‘गर्मीको समयमा जीवनजलको माग धेरै हुन्छ, जीवनजल पनि छैन भन्दा स्थानीय आक्रोशित हुन्छन्,’ सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको गुनासो छ ।
सरकारले सर्वसाधारणको हितलाई ध्यानमा राखि मुलुकका सबै सरकारी संस्थामा निःशुल्क औषधिको व्यवस्था गरेको भए पनि गाउँपालिकाको लापरवाहीका कारण अन्नपूर्णमा सहजै औषधिको व्यवस्था हुन सकेको छैन ।
मेट्रोनिडाजोल, एम्लोडीपीन, सालमुटामोल, रेनिटिडिन, इन्जेक्सनको अभाव हुने गरेको छ । सामान्य बिरामीलाई समेत आवश्यक पर्ने औषधि समयमै ढुवानी नहुँदा समस्या भएको अन्नपूर्ण–५ का वडाध्यक्ष दिनेशकुमार पुनले बताए ।
गाउँपालिकाले खरीद गरेको औषधि गाउँपालिकामा आउन ढिलाई गरेकाले गाउँमा औषधिको अभाव भएको गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुनले बताए । रासस