Trending :
 

दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि आर्मीका खगेन्द्रलाई

जेठ २०,२०७६

-

 जेठ २०,२०७६ काठमाडौं ।
आर्मीका खगेन्द्र भाटले दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि हात पारेका छन् ।
 
अन्नपूर्ण आधार शिविर (एबीसी) देखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा ६ मिनेट ५३ सेकेन्डमा पार गरे । 
 
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा सोमबार आयोजना गरेको म्याराथनमा आर्मीकै वर्चश्व रह्यो । 
 
गत वर्ष पहिलो भएका आर्मीका हरिकुमार रिमाल यसवर्ष दोस्रो भए । उनले ४ घण्टा १४ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गरे । गत वर्ष उनले ४ घण्टा १७ मिनेटमा म्याराथन पूरा गरेका थिए । 
 
आर्मीकै गोपाल तामाङले ४ घण्टा २२ मिनेट २९ सेकेन्ड दूरी पार गरे । घान्द्रुकका स्थानीय धावक सचिन गुरुङ चौंथो भए । उनले ४ घण्टा २७ मिनेट २५ सकेन्डमा म्याराथन पूरा गरे ।
 
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जेठ १७ देखि २० सम्म आयोजना गरेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अन्तिम दिन म्याराथन भएको हो ।
 
एबीसीबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा टुंगियो । म्याराथनमा ५५ धावकले सहभागिता जनाए ।
 
म्याराथनमा पहिलो हुनेले १ लाख ५ हजार रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले ५५ हजार रुपैयाँ प्राप्त गरे । विजयी धावकलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले पुरस्कार वितरण गरे ।
 
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव संयोजक ललित गुरुङले खेल पर्यटनको विकास र विस्तारमा थप टेवा पुर्‍याउन म्याराथन आयोजना गरेको बताए ।
 
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।
 
उनैले ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ ।