Trending :
 

विश्वकप क्रिकेटः पाकिस्तानद्वारा इङ्ल्यान्ड १४ रनले पराजित

जेठ २१,२०७६

-

जेठ २१,२०७६ काठमाडौं ।
 आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणमा पहिलो जित निकालेको छ ।
 
गएराति सम्पन्न रोमाञ्चक खेलमा पाकिस्तानले आयोजक इङ्ल्यान्डलाई १४ रनले हराएको हो ।
 
खेलमा पाकिस्तानले दिएको ३ सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो ।
 
उसका लागि जो रुट र जोस बट्लरले शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्  ।
 
रुटले १ सय ७ रन बनाउँदा बट्लरले १ सय ३ रन जोडे । पाकिस्तानका वहाब रियाजले ३ विकेट लिए ।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन खेलाडीको अर्धशतकको मद्दतले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन जोडेको थियो ।
 
उसका लागि मोहमद हाफिजले ८४ रन जोड्दा बाबर आजमले ६३ तथा सरफराज अहमदले ५५ रनको योगदान दिए । इङ्ल्याण्डका क्रिस भोक्स र मोइन अलीले ३–३ विकेट लिए ।
 
जितसँगै पाकिस्तानले पछिल्लो १२ एकदिवसीय खेलमा पहिलो जित निकालेको छ । यसअघि पाकिस्तानले एकदिवसीय क्रिकेटमा लगातार ११ खेल हारेको थियो ।
 
जारी विश्वकपको पहिलो खेलमा वेष्ट इन्डिजसँग लज्जास्पद हार भोगेको पाकिस्तानले यो जितसँगै लय समातेको छ ।
 
पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड भने दोस्रो खेलमा पराजित भएपछि आलोचित बनेको छ ।
 
विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र श्रीलंका भिड्नेछन् । दुवै टोलीले पहिलो खेल हारेका थिए ।