Trending :
 

व्यापार युद्ध नभई वार्ता गर्न चीनलाई अमेरिकाको प्रस्ताव

जेठ २१,२०७६

-

जेठ २१,२०७६ काठमाडौं ।
चीनले अमेरिकालाई व्यापार युद्ध नभई वार्ता गर्न प्रस्ताव गरेको छ । व्यापार युद्धले अमेरिका र चीनलाई मात्र नभई संसारलाई नै बेफाइदा हुने भन्दै चीनले वार्ताको प्रस्ताव गरेको हो । तर वार्ता बराबरी जितको हैसियतमा र विश्वव्यापी सिद्धान्तका आधारमा हुनुपर्ने चीनको सर्त छ ।
 
चीनको राज्य परिषद सूचना कार्यालयले श्वेतपत्र जारी गर्दै वार्ताका लागि प्रस्ताव गरेको हो । श्वेतपत्रमा प्रयोग भएका शब्दहरु कतै अमेरिकाप्रति आक्रामक र कतै नरम देखिन्छन् ।
 
यदि अमेरिकाले व्यापार युद्धलाई नरोके चुनौतीलाई अवसरमा बदल्दै चीनको इतिहासमा नयाँ अध्याय स्थापित गर्न आफू प्रतिबद्ध रहेको चीनले जनाएको छ । त्यसका लागि चीन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने श्वेतपत्रमा उल्लेख छ ।
 
चीन(अमेरिका आर्थिक तथा व्यापार सम्बन्धमा जारी गरिएको श्वेतपत्रमा सन् २०१७ देखि नै ट्रम्प प्रशासनले मुख्य व्यापारिक साझेदारलाई उनीहरुका सामानमा थप महशुल र अतिरिक्त शुल्क लगाउने धम्की उत्तेजना फैलाएको उल्लेख छ ।
 
वर्तमान अमेरिकी प्रशासनले ‘अमेरिका फस्ट’ भन्ने नारा अघि सार्दै एकपक्षीय रुपमा संरक्षणवादलाई प्रवर्द्धन गरेको चीनको आरोप छ । अमेरिकाले अपारदर्शी, एकतर्फी र अहिले भइरहेका विश्वव्यापी मानकहरुविपरित संरक्षणवादलाई प्रवर्द्धन गर्दै व्यापार युद्ध घोषणा गरेको चीनको भनाइ छ ।
 
खासगरी हुवावे काण्डपछि अमेरिका र चीनबीच व्यापार युद्धको अवस्था छ । सूचना प्रविधिमा चीनको अग्रणी कम्पनी हुवावेले आफ्ना उत्पादनलाई जासुसी गर्न उपयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ र चीनले त्यसको खण्डन गर्दै आइरहेको छ । 
 
चिनियाँ स्टिल र आल्मुनियममाथि गरिएको भारी कर वृद्धिको करिव एक महिनापछि सन् २०१८ जुलाई १५ मा ट्रम्पले ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा लाग्ने करमा २५ प्रतिशत वृद्धिको घोषणा गरेका थिए ।
 
विगत हेर्ने हो भने अमेरिका त सन् २००८ देखि चीनसँग सबैभन्दा बढी ऋण लिएको राष्ट्र हो । सन् २००८ देखि सुरु भएको अमेरिकी अर्थतन्त्रको संकट टार्न अमेरिकाको एक ट्रिलियन ‘ट्रेजरी बिल’ समेत चीन एक्लैले किनिदिएको थियो ।
 
विश्व आर्थिक मन्दीपछि अमेरिकी अर्थतन्त्र जोगाउन चीनले सबैभन्दा बढी सहयोग गर्‍यो । सन् २००८ को आर्थिक संकटको पूर्वार्द्धमा विश्वको कूल गार्हस्थ उत्पादनमा अमेरिकाको हिस्सा २० प्रतिशत र चीनको १३ प्रतिशत थियो ।
 
सन् २००८ मा झन्डै विघटन हुन लागेको आफ्नो अर्थतन्त्र जोगाउन त्यत्रो सहयोग गरेको चीनलाई त्यसको एक दशक पछाडि नै अमेरिकाले व्यापार युद्धमा आमन्त्रण गरिरहेको छ ।
 
व्यापार युद्धले स्वयं अमेरिकालाई पनि घाटा लाग्ने चेतावनी दिँदै चीनले अहिले भइरहेको व्यापारिक अवरोध वार्ता र छलफलको माध्यमबाट टुंगो लगाउनुपर्नेमा जोड दिएको छ ।
 
‘अहिलेको समस्या समाधानको लागि चीनले दुवै पक्षको बराबरी जीतको हैसियतमा वार्ता र छलफल होस् भन्ने चाहन्छ,’ श्वेतपत्रमा लेखिएको छ, ‘तर त्यो विश्वव्यापी सिद्धान्तका आधारमा हुनुपर्छ ।’