तीन कम्पनीद्धारा साढे दुई खर्ब विदेशी लगानी अनुमति
-
जेठ २१,२०७६ काठमाडौं ।
स्वदेशी पुँजी पर्याप्त नभएर सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्न लगानीकर्तालाई आह्वान गरिरहेको बेला विभिन्न मुलुकका तीन कम्पनीले करिब साढे दुई खर्ब रुपैयाँ लगानी गर्न अध्ययन अनुमति लिएका छन्।
मुलुकका सातै प्रदेशमा सौर्य ऊर्जा उत्पादन, लुम्बिनीमा पाँचतारे होटलसहित प्रदर्शनी पार्क, वीरगन्ज र भैरहवामा सुक्खा बन्दरगाह निर्माणका परियोजनामा लगानी गर्न इच्छा जाहेर गरेकाले सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको लगानी बोर्डले जनाएको छ। ती परियोजनामा दुई खर्ब ५४ अर्ब ७५ करोड लगानी हुनेछ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकले सरकारलाई कुनै पनि आर्थिक दायित्व नपर्ने गरी अध्ययन अनुमति दिएको हो।
चीनको सिल्क रोड इन्टरनेसनल होल्डिङ कोअपरेसन लिमिटेडले लुम्बिनीमा विश्व बुुद्धिस्ट प्रर्दशनी पार्क निर्माण तथा सञ्चालनका लागि अनुमति लिएको हो।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार उक्त परियोजनाका लागि करिब दुई सय अर्ब रुपैयाँ लाग्ने लगानीकर्ताले प्रारम्भिक जानकारी गराएका छन्।