प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलमा आर्मी र गण्डकी प्रदेश विजयी
-
जेठ २१,२०७६ काठमाडौं ।
नेपाली सेनाको आयोजनामा भएको चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताअन्तरगत मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा भएको खेलमा आर्मीले प्रदेश नं २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो भने गण्डकी प्रदेशले पनि कर्णाली प्रदेशलाई समान ३-० कै सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।
यसअघि भएको पहिलो खेलमा आर्मीले सुदूरपश्चिमलाई पराजित गरेको थियो भने दोस्रो खेलमा प्रदेश नं १ लाई पराजित गरेको थियो । त्यस्तै गण्डकी प्रदेशले पहिलो खेलमा प्रदेश नं ५ लाई हराएको थियो भने दोस्रो खेलमा प्रदेश नं ३ लाई पराजित गरेको थियो ।
आर्मीले प्रदेश नं २ लाई पहिलो सेट २५-१५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-१३ ले पराजित गर्यो । त्यसैगरी गण्डकी प्रदेशलले कर्णाली प्रदेशलाई २५-२१, २७-२५ र २५-१४ को सेटमा पाखा लगाएको थियो । जितसँगै समान तीन-तीन खेल खेलेको दुवै टोलीले समान नौ अङ्क जोडेका छन् ।
समूह ‘क’ मा रहेको विभागीय टोली आर्मी अङ्क तालीकाको शीर्षस्थानमा छ । त्यस्तै दुई खेल खेलेको प्रदेश नं २ अङ्कविहीन छ । त्यसैगरी समूह ‘ख’ मा रहेको गण्डकी प्रदेश शीर्षस्थानमा रहेको छ भने दुई खेल खेलेको कर्णाली प्रदेश दुवै खेलमा पराजित भएको छ ।प्रतियोगिताको विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पाउनेछन् भने तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछन् । रासस