Trending :
 

विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित:

जेठ २२,२०७६

-

जेठ २२,२०७६ काठमाडौं ।
श्रीलंकाले विश्वकप क्रिकेटमा पहिलो विजय हात पारेको छ । श्रीलंकाले बुधबार अफगानिस्तानलाई डकवर्थ लुइस पद्धतिमा ३४ रनले पराजित गर्‍यो । श्रीलंकाले यस वर्ष खेलिएका ११ खेलमा केवल दोस्रो खेल जितेको हो । 
 
यसअघिको एकमात्र विजय पनि केही कमजोर मानिएको स्कटल्यान्डसँग थियो ।
 
श्रीलंका विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग यही मैदानमा १० विकेटले पराजित भएको थियो । अफगानिस्तान ब्रिस्टोलमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।
 
दोस्रो पटक विश्वकप खेलिरहेको अफगानिस्तानले १९९६ को च्याम्पियन श्रीलंकालाई गत वर्ष युएईमा एसिया कपमा पराजित गरेको थियो । त्यही इतिहास दोहर्‍याउने सुनौलो अवसर अफगानिस्तानले गुमाउन पुग्यो ।
 
यसअघि टस हारेर ब्याटिङमा आएको श्रीलंका ३६.५ ओभरमा २ सय १ रनमा अल आउट भएको थियो । श्रीलंकाले ३३ ओभरमा ८ विकेट गुमाई १ सय ८२ रन बनाएको समयमा खेल वर्षाले बिथोलेको थियो ।
 
त्यसपछि खेल ४१ ओभरमा झारिदा श्रीलंकाले थप ४ ओभर पनि खेल्न सकेन् । अफगानिस्तानलाई त्यसपछि ४१ ओभरमा १ सय ८७ रनको लक्ष्य दिइएको थियो ।
 
श्रीलंका एक समय १४४-१ को स्थितिमा थियो । मोहम्मद नाबीले ४ विकेट लिएपछि श्रीलंकाको इनिङ्स धरमराउन लाग्यो । नाबीले वेल्सको राजधानी कार्डिफमा कप्तान डिमुथ करुनारत्नेलाई ३० रनमा आउट गरे ।
 
नाबीले त्यसपछि एकै ओभरमा ३ विकेट लिदै अफगानिस्तानलाई खेलमा फर्काएका थिए । लाहिरु थिरिमानेलाई २५ रनमा बोल्ड गरेका नाबीले कुशल मेन्डिसलाई २ र कप्तान एन्जेलो म्याथ्युज शुन्यमा आउट गरे ।
 
ओपनर कुशल पेरेराले सर्वाधिक ७८ रन बनाए । ८१ बल खेलेका उनले ८ चौका प्रहार गरे । श्रीलंकाले अतिरिक्तबाट ३५ रन पाएको थियो । नाबीले ९ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । रशिद खान र दवलत जद्रानले २–२ तथा हमिद हसनले १ विकेट लिए ।
 
जबाफमा आएको अफगानिस्तान ३२.४ ओभरमा १ सय ५२ रनमा अलआउट भयो । नाजिबुल्लाह जद्रानले ४३ रन बनाए । उनी नवौं खेलाडीको रुपमा आउट भए । उनलाई करुनारत्नेले सिधा थ्रोमा रनआउट गरे ।
 
ओपनर हजरुत्लाह जाजाईले ३० रन बनाएका थिए । श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए म्यान अफ द म्याच प्रदर्शन गरे । उनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चे । भेट्रान लासिथ मालिङ्गाले ३ तथा इसुरु उडाना र पेरेराले १-१ विकेट लिए । एएफपी