Trending :
 

तीन साताभित्र उत्तर कोरियाको तेस्रो मिसाइल परिक्षण

जेठ १६,२०७४

-

जेठ १६ -

उत्तर कोरियाले सोमबार फेरि अर्को ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ ।

तीन साताभित्र उत्तरले गरेको यो तेस्रो परीक्षण हो । मध्यम दूरीको यो मिसाइल २ सय ४८ माइल उडेर जापानको विशेष आर्थिक क्षेत्रभित्र खसेको थियो । जापानी अधिकारीका अनुसार उक्त क्षेत्र व्यावसायिक जहाजहरू सञ्चालन हुने क्षेत्र हो । मिसाइल जापानी तटीय क्षेत्रको २ सय नटिकल माइलभित्र खसेको थियो । दक्षिण कोरिया र जापानले परीक्षणको तत्काल विरोध जनाएका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले परीक्षणविरुद्ध ‘ठोस कारबाही’ गर्ने प्रतिबद्धता जनाएका छन् । जापानी मुख्य सचिव योसिहिदे सुगाले विज्ञप्तिमार्फत परीक्षण विमान र जहाजको सुरक्षाका लागि निकै गम्भीर कार्य भएको बताएका छन् । परीक्षणले राष्ट्रसंघीय सन्धिको स्पष्ट उल्लंघन गरेको र भड्काउपूर्ण क्रियाकलाप कुनै पनि हालतमा स्वीकार्य नभएको उनको भनाइ छ । दक्षिण कोरियाका सुरक्षा प्रमुखले पनि उत्तरले आफ्ना सेनाद्वारा कडा कारबाहीको सामना गर्ने चेतावनी दिएका छन् ।

मे महिनाको सुरुमा सत्ता सम्हालेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले पनि सोमबारको परीक्षणको भत्र्सना गर्दै यो कोरियाली प्रायद्वीप तथा अन्तर्राष्ट्रिय समुदायको शान्ति र स्थायित्वका लागि गम्भीर खतरा भएको बताएका छन् । उत्तर कोरियाले सन् २०१७ को अहिलेसम्म गरेका ९ परीक्षणमा १७ मिसाइल प्रक्षेपण गरिसकेको छ । सन् २०१६ को यसै अवधिमा १० मिसाइल परीक्षण गरेको थियो ।

विश्लेषकका अनुसार सफल या असफल जुन रूपमा गरे पनि उत्तर कोरियाले अमेरिकासम्म पुग्न सक्ने खालको मिसाइल निर्माणको नजिक पुगेको सन्देश दिएको छ । गत मे १४ मा उत्तरले गरेको परीक्षण अहिलेसम्मकै सफल मानिएको थियो । उक्त मिसाइल २१ सय किलोमिटर उचाइमा पुगेको थियो । त्यसपछि मे २१ मा मध्यमदूरीको ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । -सीयनयन