Trending :
 

विश्वकप क्रिकेटः अष्ट्रेलियाद्धारा वेष्ट इन्डिज १५ रनले पराजित

जेठ २४,२०७६

-

जेठ २४,२०७६ काठमाडौं । 
साविक विजेता अस्ट्रेलियाले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
 
गएराति नटिङघममा भएको खेलमा अस्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले हरायो ।
 
खेलमा अष्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७३ रन मात्र बनाउन सक्यो ।
 
उसका लागि साई होप र कप्तान जेसन होल्डरले अर्ध शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।
 
होपले ६८ रनको योगदान दिंदा होल्डरले ५१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर ५ विकेट लिए । 
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय ८८ रन बनाएको थियो ।
 
उसका लागि नाथन कुल्टर नाइलले ९२ रन तथा स्टिभ स्मिथले ७३ रनको पारी खेले ।
 
जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले नै हराएकोे वेष्ट इण्डिजको भने प्रतियोगितामा यो पहिलो हार हो ।
 
विश्वकप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्नेछन् ।