Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

इस्लामिक आतंककारी समूहलाई आत्मसमर्पण गर्न आव्ह्वान

जेठ १७,२०७४

-एजेन्सी

१७ जेठ,मराबी-

फिलिपिन्सको दक्षिणी सहरको केही भाग कब्जा गरेका इस्लामिक आतंककारी समूहलाई फिलिपिन्सका अधिकारीले आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।

सो सहरमा इस्लामिक स्टेट्स (आईएस) र सरकारी सुरक्षा बलबीच जारी भिडन्तका कारण फसेका सर्वसधारणका लागि सो आग्रह गरिएको अधिकारीहरूले बताएका छन् ।

सैनिक प्रवक्ता बिग्रेडिएर–जनरल रेस्टिटुटो पाडिल्लाले भने, ‘हामीले उनीहरूलाई आन्तरिक रूपमा आत्मसमर्पणको मौका दिइरहेका छौं, उनीहरूलाई अझै पनि आत्मसमर्पणको मौका बाँकी रहेको छ ।’आतंककारीले यदि सो कार्य गरेको खण्डमा थप व्यक्ति यस द्वन्द्वमा नतानिने र थप भवन क्षतिग्रस्त नहुने उनको भनाइ थियो ।

त्यसैगरी, गत सातादेखि सुरु भएको यस द्वन्द्वको कारण मराबीमा रहेका दुईवटा जेलबाट सयभन्दा बढी कैदी भागेका छन् । भागेका मध्ये केही जारी द्वन्द्वमा सहभागी भएका बताइएको छ ।

फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र आईएस आतंककारी समूहबीच भएको भीषण भिडन्तका कारण २ हजारभन्दा बढी सर्वसाधारण फसेको जनाइएको छ ।

दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मराबी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत सातादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेपछि राष्ट्रपति रोड्रिगो डुटेर्तेले मिन्दानाओ क्षेत्र र मराबी नगरमा संकटकालको घोषणा गरी सैनिक शासन लागू गरेका थिए ।

सो सहरमा करिब एक सातादेखि आईएस आतंककारी र सुरक्षा बलबीच जारी भिडन्तका कारण महिला र बालबालिकासहित सयभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

गत सातादेखि जारी भिडन्तमा १७ सुरक्षा अधिकारी, ६१ जना आतंककारी र १९ जना सर्वसाधारणको मृत्यु भइसकेको छ भने १४ जना सर्वसाधारण अपहरणमा परेका छन् ।

राष्ट्रपति रोड्रिगो डुटेर्ते, केही मन्त्री तथा उच्च पदस्थ अधिकारी रसियाको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामिक सशस्त्र समूहले अकस्मात् आक्रमण गरी मराबी नगरमा कब्जा जमाएका थिए ।

आफ्नो समूहलाई विश्वको कुख्यात आतंकवादी समूह आईएसको समर्थन र सहयोग रहेको दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः माउतेले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारी नभएको मौका छोपी इस्लामी बहुल क्षेत्र मराबी नगरमा गत मंगलबार एक्कासि आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए ।