Trending :
 

हङकङमा हिंसात्मक प्रदर्शन,सरकारी कार्यालय बन्द

जेठ ३०,२०७६

-

जेठ ३०,२०७६ काठमाडौं ।
बुधबारको हिंसात्मक प्रदर्शनपछि हङकङका सरकारी कार्यालयहरु बन्द गरिएका छन् ।
 
प्रदर्शनकारीहरुको निसानामा पर्दै आएको हङकङको सरकारी हेर्डक्वार्टर वरपरका कार्यालयहरु बन्द गरिएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
 
चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन हङकङको विधायिका परिषद्ले विधेयक ल्याएपछि केही दिनदेखि हङकङ अशान्त छ । विधेयक त्रुटिपूर्ण रहेकाले त्यो फिर्ता हुनुपर्ने उनीहरुको माग छ । 
 
तर, उनीहरुको माग बेवास्ता गर्दै विधेयकमाथि छलफलको प्रयास भइरहेको छ । जसको विरोधमा प्रदर्शनकारीहरु कडा रुपमा प्रस्तुत भएका छन् । 
 
दोस्रो चरणको छलफल विधायिका परिषद्ले बुधबार अघि बढाउन लागेको विरोधमा बुधबार भएको प्रदर्शनले उग्र रुप नै लियो । जुन प्रदर्शनलाई हङकङको दशकयताकै ठूलो भएको बताइएको छ ।
 
प्रदर्शनकारीले सरकारी कार्यालय वरपरका सडकमा प्रदर्शन गर्दै अवरुद्ध पारेपछि प्रहरीले उनीहरुलाई तितरवितर पार्न टियर ग्यास तथा रबरका गोली प्रहार गरेको थियो । 
 
जसबाट २२ भन्दा बढी घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।
 
हिंसात्मक प्रदर्शनको भोलिपल्ट बिहीबार बिहान हङकङ स्तब्ध देखिएको बीबीसीले जनाएको छ ।
 
विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकलाई लिएर चलेको प्रदर्शनले उग्र रुप लिन थालेपछि मुख्य भूमि चीनतर्फ सुपुर्दगी गर्न ल्याइएको विधेयकबारेको छलफल पछि गर्ने भन्दै स्थगन गरिएको छ ।