समान तलब सुविधाको माग गर्दै स्वीस महिलाहरुको देशव्यापी आन्दोलन
-
जेठ ३१,२०७६ जेनेभा ।
युरोपेली मुलुक स्वीजरल्याण्डमा पनि महिलाहरु पुरुष सरह तलब सुविधाको माग गर्दै देशव्यापी आन्दोलनको तयारीमा लागेका छन् ।
सन् १९९१मा स्वीजरल्याण्डका महिलाहरु यसैगरी सडकमा उत्रिएका थिए । अहिले २८ वर्षपछि उनीहरु त्यसैगरी सडकमा निस्कन लागेका हुन् । यसअघि स्वीजरल्याण्डमा मतदानको अधिकार माग्दै सन् १९१८मा महिला आन्दोलन भएकोमा त्यो अधिकार उनीहरुले सन् १९७१मा मात्रै पाए ।
१९९१को आन्दोलन अघि स्वीस सरकारमा महिलाको सहभागिता थिएन भने सुत्केरी भएको बेलामा वैधानिक बिदाको व्यवस्था पनि थिएन । अहिलेसम्म सरकारमा ८ जना महिला मन्त्री भएका छन् भने त्यहाँ सुत्केरी बिदालाई वैधानिकता दिइएको छ ।
तर अझैपनि स्वीजरल्याण्डमा महिलाहरुले पुरुषको भन्दा औसतमा २० प्रतिशत कम मात्रै कमाउने गरेको बताइने गरेको छ ।
व्यवस्थापनको पदहरुमा उनीहरुको कम सहभागिता रहेको छ भने चाइल्ड केयर अहिले महंगो छ । गएको महिना अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गरेको एक सर्भेमा वरिष्ठ भूमिकामा पुरुष र महिलाको पे रेटमा महिलाको सूची तल देखाइएको बीबीसीले जनाएको छ ।