कर्णाली प्रदेशसभा सचिवालयले उपकरण खरिद गर्न नसक्दा बजेट फ्रिज !
-
जेठ ३२,२०७६ काठमाडौं ।
कर्णाली प्रदेशको प्रदेशसभा सचिवालयले संसदका लागि आवश्यक उपकरण खरिद नगरेपछि त्यसका लागि छुट्याइएको बजेट फ्रिज हुने भएको छ ।
सचिवालयले संसद् बैठकमा आवश्यक पर्ने श्रव्यदृष्य सामग्री खरिद गर्न नसकेपछि चालू आर्थिक वर्षमा उपकरण खरिदका लागि आएको बजेट फ्रिज हुने भएको हो । ४४ उपकरणका लागि अर्थ मन्त्रालयले पठाएको २ करोड १ लाख रुपैयाँ फ्रिज हुन लागेको हो ।
फ्रिज भएको रकम प्रदेश सञ्चित कोषमा जाने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
प्रदेशसभा सचिवालयले गत माघ २७ गते सचिवालयका लागि आवश्यक उपकरण खरिद गर्न प्रकाशित सूचनाअनुसार उपकरण खरिदका लागि पेस भएका प्रस्ताव चित्तबुझ्दो नभएको सभामुख शाहीले बताए ।
प्रदेशसभाले नियमविपरीत निश्चित कम्पनीलाई मात्र प्रतिस्पर्धा गर्न मिल्ने गरी सूचना प्रकाशित गरेको थियो ।
सार्वजनिक खरिद ऐनले प्रतिस्पर्धालाई खुला गराउनुपर्ने व्यवस्था गरे पनि सचिवालयले त्यसविपरीत पानासोनिक कम्पनीका क्यामरा र रोज कम्पनीको भिडियो स्विचर नै तोकेर सूचना प्रकाशित गरेको थियो ।
प्रदेशसभाले मागेबमोजिमको प्रतिवेदन पेस नभएकाले मूल्यांकन समितिले अस्वीकार गरेपछि चालू आर्थिक वर्षमा उपकरण खरिद गर्ने योजना रद्द गरिएको सभामुख शाहीले बताए ।
सचिवालयमा श्रव्यदृश्य सामग्री खरिदका लागि दुईवटा मात्र प्रस्ताव परेका थिए ।