Trending :
 

सुदूरपश्चिमको बजेट २८ अर्ब १६ करोड २० लाख,कृषि क्षेत्रलाई प्राथमिकता

आषाढ ०१,२०७६

-

असार १,२०७६ काठमाडौं । 
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६-०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको पूर्ण बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गरेको छ । 
 
विनियोजित कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार रहेको छ भने पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रहेको छ ।
 
४० करोड २१ लाख ७२ हजार वित्तिय व्यवस्थातर्फ छुट्टयाएको छ भने अन्तरसरकारी वित्तीय हस्तान्तरण २ अर्ब १२ करोड २१ लाख ७२ हजार रहेको छ । स्थानीय तहलाई ६२ करोड २१ लाख ७२ हजार विनियोजन गरिएको छ । सांसदहरुलाई पूर्वाधारका विकास कार्यक्रमका नाममा गत वर्षभन्दा एक करोड बढाएर ३ करोड पुर्‍याइएको छ ।
 
बजेटले कृषि क्षेत्रलाई प्राथमिकता राखेको देखिएको छ । ‘नमुना कृषि गाउँ आफै बनाउँ’ कार्यक्रमलाई महत्वका साथ प्रस्तुत गरिएको छ । हरेक स्थानीय तहमा एवउटा नमुना कृषि गाउँ बनाउने उद्देश्यले ल्याइएको कार्यक्रमका लागि ४४ करोड विनियोजन गरिएको छ । एउटाका लागि ५० लाख दिने सरकारको योजना छ । 
 
यस्तै मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम बजेटमा ल्याइएको अर्को महत्वपूर्ण कार्यक्रम हो । उक्त कार्यक्रमका लागि पनि ४४ करोड विनियोजन गरिएको छ ।
 
कृषि अन्तर्गतै ८० हेक्टरमा केरा खेतीको विस्तार गर्न २ करोड छुट्याइएको छ । यस्तै छानिएका १ सय कृषि सहकारी संस्थालाई ५० प्रतिशत पुँजीगत अनुदानसहित ५ लाखसम्म दिइने भनिएको छ ।
 
खप्तडको पर्यटकीय प्रवेश मार्गमा बझाङको दारुगाउँ र डोटीको झिगना तथा अछामको रामारोशनमा कृषि पर्यटन प्रवर्द्धनका होमस्टे स्थापना गर्ने भनिएको छ । पूर्वाधार विकास, पर्यटन विकास, उद्यमलाई पनि बजेटले महत्व दिएको छ ।
 
पूर्वाधारतर्फ सडक, सिँचाई, सबैभन्दा बढी प्राथमिकतामा परेका छन् । बजेटमा गरिबी न्यूनिकरण लक्षित कार्यक्रमहरुमा जोड दिइएको उल्लेख गरिएको छ ।