Trending :
 

प्रदेश ३ को बजेट ४७ अर्ब ८० करोड,सामूहिक खेती अभियानलाई उच्च प्राथमिकता

आषाढ ०१,२०७६

-

असार १,२०७६ हेटौँडा ।
 प्रदेश नं ३ को प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६र७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
 
उहाँले सो बजेटमध्ये चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट र पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र वित्तीयतर्फ ३० करोडको बजेट छुट्याइएको जानकारी दिनुभयो ।
 
उहाँले उक्त बजेटले प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।
 
त्यसैगरी उहाँले सिन्धुलीको दुधौली, मकवानपुरको मनहरिमा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने, चितवनमा दूधको उत्पादन गर्ने कारखाना तथा हेटौँडा अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गरिने बताउनुभयो ।
 
बजेटमा प्रदेशको १० जिल्लामा गरिबी न्यूनीकरण गर्ने कार्यक्रम, कृषि, वनलाई संरक्षण गर्ने १३ वटै जिल्लामा छोरी–बुहारीलाई उच्च शिक्षासम्म अध्ययन गराउने अभियानलाई तीव्रता दिइने, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्गलाई निर्माणको अग्रतामा बजेट छुट्याइएको बताइएको छ ।
 
प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर आगामी २०७८ सालसम्ममा पेट्रोलबाट चल्ने सवारी साधनलाई उन्मूलन गरी विद्युतीय सवारी साधन सञ्चानलका लागि उच्च प्राथमिकता राखी बजेट क्रमशः छुट्याइँदै लगिएको मन्त्री ढुङ्गेलले जानकारी पनि दिनुभयो । रासस