डडेल्धुरा अस्पतालमा तोडफोड भएपछि प्रतीक्षालयमै बसेर बिरामीको उपचार
-
असार ३,२०७६ डडेल्धुरा ।
सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका डडेल्धुरा अस्पतालका चिकित्सकले प्रतीक्षालयबाट सेवा दिन सुरु गरेका छन् ।
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा तोडफोड गरेपछि चिकित्सकहरुले आफूहरु असुरक्षित भएको गुनासो गरेका थिए ।
११ जना चिकित्सकले सामूहिक बिदा मागेर अस्पताल बाहिरबाट बिरामीको उपचार सुरु गरेका हुन् ।
आकस्मिक लगायत सबै सेवा ठप्प पारेका चिकित्सकले घटनाको छानबिन गर्न माग गरेका छन् । उनीहरुले बिरामीको मर्कालाई ध्यानमा राखेर अस्पताल बाहिरबाटै सेवा दिने बताएका छन् ।
अस्पतालमा सुरक्षाको प्रत्याभूति नभएसम्म नियमित काममा नफर्कने अडान उनीहरुको छ ।
अमरगढी नगरपालिका–६ की २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १७ दिनपछि रक्तश्राव भएर उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालका कर्मचारीलाई ज्यान मार्ने धम्की सहित अस्पताल तोडफोड गरेका थिए ।